
आगामी कात्तिक ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको झन्डै चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । फिल्मले खोलाको ढुंगा र बालुवालाई लिएर उत्पन्न हुने विवादलाई मुख्य विषय बनाएको देखिन्छ ।
ट्रेलरमा फिल्मका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको टकरावलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिएको छ । खोलाको ढुंगा र बालुवालाई लिएर उनीहरू एकअर्कासँग लडेका छन् । दयाहाङ ठेकदारको भूमिकामा छन् भने विजय ट्याक्टर चालकको रूपमा देखिएका छन् । ट्रेलरमा प्रेम र भावनात्मक उतारचढावका दृश्यले कथालाई अझ प्रभावशाली बनाएको छ ।
‘न्याउली वनैमा’ गीतका कारण चर्चामा रहेको ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । उनी स्वयंको कथा तथा सम्पादन रहेको फिल्ममा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी, रामबाबु रेग्मी लगायतको अभिनय रहेको छ । यसमा महेश दवाडीको पटकथा तथा संवाद छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे रहेका छन् । यसमा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा रोहित शाक्य र शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको छ ।

