Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो चलिरहेको छ ‘बलिदान’ ?

फिल्मीखबर, काठमाडौं, 2025/10/05

Balidan 1

 

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘बलिदान’ले प्रदर्शनको पहिलो साता दर्शकबाट उत्साहजनक साथ पाएको छ । भोलि सोमबारबाट दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो फिल्म आइतबार (पहिलो साताको अन्तिम दिन) पनि देशभर एक सयभन्दा बढी शोका साथ प्रदर्शनमा छ भने अकुपेन्सी अनुपात ६० प्रतिशतभन्दा माथि रहेको छ । 

वितरकहरूका अनुसार फिल्मले काठमाडौंसहित पश्चिम नेपालदेखि पूर्वी नेपालसम्म राम्रो दर्शक पाइरहेको छ । प्राविधिक कारणले पोखराको मिडटाउनबाट हटेको फिल्म फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिए । काठमाडौंका वितरक गोविन्द शाहीले फिल्म क्षेत्रलाई चलायमान बनाउन ‘बलिदान’ले महत्त्वपूर्ण भूमिका खेलेको जनाए ।

निर्देशक सन्तोष सेनले विषम परिस्थितिका बीच पनि फिल्मले गरेको व्यापारबाट आफू सन्तुष्ट रहेको बताए । उनका अनुसार फिल्मको व्यापारिक आँकडा एकमुस्ट रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । फिल्म प्रदर्शन भएदेखि निर्देशक सेनसहित अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मासहितको टिमले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेको छ । 

‘बलिदान’लाई दर्शकबाट ‘वर्ड अफ माउथ’ पनि सकारात्मक मिलेको छ । प्रायःले यो फिल्मलाई नेपालमै पहिलो पटक बनेको उच्चस्तरीय एक्सन फिल्म भनेका छन् । समीर भट्टको एक्सन र अभिनयको पनि निकै प्रशंसा भइरहेको छ । युवा वर्गका दर्शकले उनलाई पछिल्लो पुस्ताको ‘एक्सन स्टार’को रूपमा चित्रण गरेका छन् ।

दर्शन जीको लेखन रहेको ‘बलिदान’मा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, कविता राय, प्रेम पुरी लगायतले अभिनय गरेका छन् । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यसमा महेश पौडेलको डीओपी, सुजन चापागाईँको संगीत तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।