Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइतीघर’को भिडियो प्रतियोगिता : दुई विजेता घोषित, जनही साढे २ लाख पाउने

फिल्मीखबर, काठमाडौं, 2025/10/05

maitighar winner

 

फूलपाती (१३ असोज)बाट प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’ले घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । पहिलो दिनदेखि नै देशभर उपलब्ध शोहरूमा ५० प्रतिशतभन्दा माथि अकुपेन्सी हासिल गरिरहेको यो फिल्मलाई दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको छ । फिल्मको कथा र कलाकारहरूको अभिनयको निकै प्रशंसा भएको छ ।

फिल्म प्रदर्शन हुनुअघि यसको निर्माण पक्षले शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’मा भिडियो प्रतियोगिता आयोजना गरेको थियो । यस गीतमा एक हजारभन्दा बढीले भिडियो बनाएकोमा बुटवलका सुरज सिंजाली मगर र श्री डान्स एकेडेमीका बालिकाको भिडियो उत्कृष्ट ठहरिएको छ । सोमबार प्रतियोगिताका निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेताको नाम घोषणा गरेका हुन् ।

विजेतालाई पाँच लाख नगद पुरस्कार दिने घोषणा गरिएकोमा अब दुई समूहलाई जनही साढे २ लाख प्रदान गरिने भएको छ । निर्माता रोहित अधिकारीले भने, ‘यसपटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरुको प्रतिस्पर्धा कडा भयो । यसैले निर्णायकले दुवैलाई विजेता घोषणा गर्नुभएको छ । अब हामी दुवै समूहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौं ।’

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्दि तामाङ, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । तामाङ संस्कृतिलाई मुख्य विषय बनाएर फिल्मले माइतीघर र चेलीको सम्बन्धको कथा भनेको छ ।