Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरेको सर्‍यै ‘अभिमन्यु’, अब कात्तिक २१ मा

फिल्मीखबर, काठमाडौं, 2025/10/05

Abhimanyu Chapter 1- New Poster

 

सस्पेन्स थ्रिलर फिल्म ‘अभिमन्यु’को प्रदर्शन मिति फेरि सरेको छ । यसअघि साउन २३, भदौ २७ र असोज २४ गते प्रदर्शन हुने भनिएको यो फिल्म अब आगामी कात्तिक २१ गतेबाट हलमा लाग्नेछ । हालको वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि फिल्मको प्रदर्शन मिति सारिएको निर्माण पक्षले जनाएको छ । कात्तिक २१ गते ‘जारी २’ र ‘मन बिनाको धन’ पनि प्रदर्शन हुँदैछन् ।

कात्तिक २१ गतेबाट भने ‘अभिमन्यु’ नसर्ने निर्माता विनोद पौडेलले बताए । उनले फेसुबकमा लेखेका छन्, ‘दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा फिल्म प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिएका हौं । प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा राखेका छौं ।’ विनोद सर्वकालीन ब्लकस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता हुन् ।

नेपाली र हिन्दी भाषामा बनेको ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्देशक सुशान्त गौतम हुन् । फिल्मले प्रलोभनको चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ ।

मुकेश खनालको लेखन रहेको यो फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्मातामा छन् । कार्यकारी निर्माताहरु विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् । यसमा शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदन घिमिरेको सम्पादन रहेको छ ।