Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजय र वर्षाले सकाए ‘मालती मंगले’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/10/01

 

अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘मालती मंगले’को सम्पूर्ण छायांकन सकिएको छ । सोमबार स्याङ्जा जिल्लामा फिल्मको अन्तिम दृश्य खिचिएको कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए । उनका अनुसार तनहुँ र स्याङ्जामा गरी ३१ दिन फिल्मको छायांकन गरिएको हो । छायांकन सकाएर फिल्मको टिम काठमाडौं फर्किसकेको छ ।

फिल्मको छायांकन सुरु हुनुअघि गत महिना काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजासहित शुभमुहूर्त गरिएको थियो । त्यसबेला फिल्मका निर्माता समेत रहेका गायक रामकृष्ण ढकालका अभिभावक गोपाल कर्माचार्यले क्ल्याप ठोकेका थिए भने विजय र वर्षाले पहिलो दृश्यमा अभिनय गर्दै छायांकन सुरु गरेका थिए ।

रानी म्युजिक इन्टरनेशनलको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराई लगायतको अभिनय रहेको छ ।

बाबु सुवेदी, रविन श्रेष्ठ, बेदना कर्माचार्य श्रेष्ठ र स्विकृति बस्नेत सह-निर्माता रहेको ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । कथा पाण्डेय स्वयंको हो भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । रोमी तण्डुकारले सम्पादन गर्ने यो फिल्ममा महेश पौडेलको छायांकन रहेको छ । फिल्मलाई यस वर्षको अन्त्यसम्म प्रदर्शन गर्ने योजनामा निर्माण पक्ष छ ।