
आगामी कात्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दशैंको कोसेली स्वरूप दर्शकमाझ ल्याइएको यस गीतमा गायकतर्फ प्रमोद खरेल, यमन श्रेष्ठ र रिदम कँडेल तथा गायिकातर्फ रचना रिमाल र सलिना विकको स्वर समावेश छ ।
सार्वजनिक गीतमा रिदम स्वयंको संगीत रहेको छ भने दीपक प्रसाद आचार्य र अनिस अधिकारीको शब्द रचना छ । विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी लगायत छमछमी नाचेका छन् । भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् ।
‘सासले हैन, साथले चल्ने’ ट्यागलाइन राखिएको यो फिल्मलाई दीपक प्रसाद आचार्यले निर्देशन गरेका हुन् । ‘काकु’को रूपमा परिचित उनको यो पहिलो निर्देशकीय फिल्म हो । देशको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको फिल्मका निर्माताहरू शेखर गोल्छा र रञ्जित आचार्य हुन् । उद्योगपछि शेखरले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् ।
निर्देशक आचार्यको कथा तथा यम थापाको पटकथा तथा संवाद रहेको फिल्ममा प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, दमन रुपाखेती, सुव्रतराज आचार्य, आर्यादीप आचार्य (बाल कलाकार) लगायतले पनि अभिनय गरेका छन् । यसमा शिवराम श्रेष्ठको डिओपी, मित्र डि गुरुङको सम्पादन तथा गगन थापा मगरको ब्याकग्राउन्ड स्कोर रहेको छ ।

