Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरिवंश भन्छन्, ‘देशको तात्तातो कथासँग ‘हरिबहादुरको जुत्ता’ मेल खान्छ’

फिल्मीखबर, काठमाडौं, 2025/09/28

Hari Bansha Acharya

 

१६ वर्षअघिको चर्चित टेलिसिरियल ‘मदनबहादुर–हरिबहादुर’मा अभिनेता हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुर पात्र बुमर्स पुस्तादेखि जेनेरेसन जेड (जेनजी)सम्म लोकप्रिय छ । अब सोही पात्रलाई दर्शकले ठूलो पर्दामा हेर्न पाउनेछन् । यही सोमबार (फूलपाती)बाट प्रदर्शन हुन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा हरिवंश स्वयंले हरिबहादुरको भूमिका निभाएका छन् । 

हरिवंशका अनुसार सिरियलमा सबैलाई विभिन्न बहानामा दुःख दिएर रूवाउने हरिबहादुर फिल्ममा भने आफैँ धेरै पटक रोएको छ । फिल्ममा हरिबहादुर पात्रको भावनात्मक यात्रासँगै नेपालको वर्तमान अवस्थालाई पनि चित्रण गरिएको उनी बताउँछन् । जेनजी पुस्ताले उठाएका मागसँग फिल्मको कथा दुरूस्तै मिलेको उनको दाबी छ ।

एक वर्ष अगाडि लेखेको कथा जेनजी पुस्ताले उठाएको माग र मुद्धासँग मिलेको बताउँदै हरिवंश भन्छन्, ‘यो फिल्मलाई ६ महिना पछाडि रिलिज गरेको भए कथा अलि पुरानो जस्तो हुन सक्थ्यो । अहिले देशको तात्तातो कथासँग फिल्मको कथा ठ्याक्कै मेल खान्छ । हामीले फिल्मलाई दशैंमा रिलिज गर्ने निर्णय नगरेको भए पछुतो हुने थियो भन्ने लागेको छ ।’

नेपाली राजनीतिमा ३५ वर्षदेखि एउटै अनुहारको फिल्म हेरिरहेकाले अब युवाहरू अगाडि आउनुपर्छ भन्ने नै फिल्ममा देखाइएको उनी प्रष्ट पार्छन् । भन्छन्, ‘विज्ञान र प्रविधिले यत्रो फड्को मारिसक्दा पनि हाम्रा राजनीतिज्ञहरूको सोचाइले कहिल्यै फड्को मार्न सकेन । यो विषयमा फिल्म बनाउनुपर्छ भनेरै मैले कथा लेखेको थिएँ । अहिले आएर हाम्रो र जेनजीको सोच मिल्यो ।’ 

‘हरिबहादुरको जुत्ता’लाई २-४ महिना ढिला रिलिज गरेको भए जेनजी आन्दोलनलाई हेरेर फिल्म बनाएको आरोप लाग्न सक्थ्यो भन्ने हरिवंशको विश्लेषण छ । तर, अब त्यो मौका नभएको उनी बताउँछन् । देशले परिवर्तन खोजिरहेको छ भन्ने कुरा नै फिल्मको थिम रहेको बताउँदै उनले नेपाली फिल्म क्षेत्र र नेपालको सन्दर्भमा यो फिल्म एउटा वैचारिक युद्ध रहेको दाबी गरे । 

जेनजी आन्दोलनको एउटा रगताम्मे जुत्ताले देशलाई नै स्तब्ध बनाएको बेला ‘हरिहादुरको जुत्ता’मा जुत्तालाई कुन रूपमा प्रस्तुत गरिएको छ भन्ने चासो धेरैमा छ । यसबारे हरिवंश भन्छन्, ‘जेनजीको त्यो जुत्तालाई ढोग्न पनि मिल्छ । त्यो आन्दोलनको प्रतीक हो । फिल्ममा भने हामीले जुत्तालाई मानिसहरू जुत्ताको जस्तै खोल ओढेर हिँड्छन् भन्ने कुरालाई प्रतीकको रूपमा प्रस्तुत गरेका छौं ।’