.jpg)
यही असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’मा स्थापित कलाकारहरूको पल्टन नै छ । केदार घिमिरे, प्रकाश सपूत, धीरज मगर, उपासना सिंह ठकुरी, युवराज लामा, बुद्धि तामाङ लगायतको अभिनय रहेको यो फिल्ममा तामाङ संस्कृति र त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्ममा धीरज नकारात्मक भूमिकामा रहेको संकेत मिल्छ ।
तर, धीरज आफ्नो पात्र पूर्ण रूपमा नकारात्मक नभएको बताउँछन् । भन्छन्, ‘फिल्ममा मेरो पात्र पूरै नकारात्मक नभए पनि ‘ग्रे सेड’मा छ । यही पात्रको यात्रा मलाई मन परेको हो । ट्रेलरमा पनि भिन्न गेटअपमा मेरो पात्र देखिएको छ । फिल्ममा मेरो पात्र कहिले प्रहरीको भेषमा त कहिले ब्रिटिस लाहुरेको रूपमा देखिन्छ । यसले दर्शकमा कौतुहलता र दुविधा सिर्जना गर्छ भन्ने लाग्छ ।’
दुई वर्षअघि नै ‘माइतीघर’को स्क्रिप्ट पढेका धीरजलाई कथाले बढी आकर्षित गरेको रहेछ । उनी भन्छन्, ‘यो फिल्मले तामाङ संस्कृतिमा रहेर जुन किसिमको कथा भनेको छ, त्यो मन परेर नै यसमा जोडिएको हुँ । माइतीघर र चेलीको सम्बन्धलाई फिल्ममा जसरी बुनिएको छ, त्यसले मलाई आकर्षित गरेको हो । दर्शकले पनि फिल्मको कथामा अपनत्व महसुस गर्नुहुन्छ भन्ने विश्वास छ ।’
धीरज फिल्मको क्लाइमेक्सले दर्शकलाई बढी प्रभाव पार्ने दाबी गर्छन् । क्याइमेक्सको छायांकनमा सबै कलाकारहरू भावुक हुँदा ३ घन्टा छायांकन समेत रोकिएको उनी सम्झन्छन् । ‘क्लाइमेक्समा एउटा मनछुने संवाद छ, त्यसबेला हामी सबै कुना कुनामा गएर रोएका थियौं । छायांकन हेर्न आउनेहरू पनि रुनुभएको थियो । क्लाइमेक्समा दर्शकहरू पनि हाँस्दा हाँस्दै रुनुहुन्छ,’ उनी भन्छन् ।

