(1).jpeg)
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’को सम्पूर्ण छायांकन सकिएको छ । शुक्रबार काठमाडौंमा अन्तिम दृश्य खिच्दै २५ दिनमा फिल्मको छायांकन पूरा भएको हो । कलाकार र प्राविधिकको मिहिनेतका कारण निर्धारित समयभन्दा ५ दिन अगावै छायांकन सकिएको निर्देशक पन्तले बताए । उनका अनुसार दशैंपछि पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ ।
फिल्मको छायांकन सकिएसँगै निर्देशक पन्तले आफ्नो अर्को फिल्ममा अभिनेता पल शाहलाई अनुबन्ध गरेका छन् । शुक्रबार साँझ दुई पक्षबीच लिखित सम्झौता भएको हो । ‘आ बाट आमा’मा पल स्वयं मुख्य भूमिकामा छन् । उनको मिहिनेत र लगनशीलता देखेर पुनः फिल्ममा सहकार्य गर्न लागेको निर्देशक पन्तले बताए । फिल्मको नाम भने तय हुन बाँकी रहेको उनको भनाइ छ ।
चितवन र काठमाडौंमा छायांकन भएको ‘आ बाट आमा’मा पलसहित प्रदीप रावत (गजनी भिलेन), विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतको पनि अभिनय रहेको छ । यसमा विपना र प्रदीपले पलको आमा-बुबाको भूमिकामा अभिनय गरेका छन् । प्रदीपले ‘ह्रस्व दीर्घ’पछि अभिनय गरेको यो दोस्रो नेपाली फिल्म हो ।
आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथा बोल्ने फिल्ममा नवराज उप्रेतीको डिओपी तथा कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकनभन्दा अगावै अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

