Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘हर्ष’को ‘सिठ्ठी मार’ गीतमा निर्देशक आफैँको प्रस्तुति

फिल्मीखबर, काठमाडौं, 2025/09/26

Khagendra Lamichhane, Barsha Raut

 

आगामी मंसिर १२ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हर्ष’को दशैंलाई लक्षित गर्दै पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरिएको छ । डान्सिङ शैलीको गीतमा एलिस कार्कीको संगीत तथा पवित्रा घिमिरेको शब्द रचना रहेको छ भने प्रताप दास र सदीक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । गीतमा हर्ष, उमङ्ग, खुसी र उत्साहको भाव मिश्रित छ । 

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा उनी आफैँ नृत्य गर्दै देखिएका छन् भने उनलाई फिल्मकी निर्देशक एकता पौडेलले साथ दिएकी छन् । विवाह, दही-चिउरा र होलीको माहोलमा तयार पारिएको गीतको भिडियोमा फिल्मका कलाकारहरु वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, माओत्से गुरुङ लगायतलाई पनि देख्न सकिन्छ । 

स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी रहेकी एकताले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन् । यसमा उनी स्वयंको लेखन रहेको छ । विकाश पौडेल निर्माता र हिक्मत चोखाल कार्यकारी निर्माता रहेको फिल्ममा निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित लगायतको पनि अभिनय छ । 

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा बनेको यो फिल्ममा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी तथा कोविद बज्रको ब्याकग्राउन्ड स्कोर रहेको छ । पारिवारिक कथावस्तुमा आधारित ‘हर्ष’मा स्वं. शिव रेग्मीले लेखेको गीत पनि समावेश गरिएको छ ।