
दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले ‘सबैका लागि’ भन्दै फिल्मलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । बुधबार साँझ फिल्मको सेन्सर गरिएको थियो । हलमा पारिवारिक दर्शकको अपेक्षा गरेको फिल्मको टिमलाई उक्त सर्टिफिकेटले ठूलो राहत दिएको छ ।
फिल्म हेरेपछि सेन्सरका पदाधिकारीहरूले कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेको निर्माता रोहित अधिकारीले बताए । उनले भने, ‘सेन्सरमा मिलेको प्रतिक्रियाले हाम्रो आत्मविश्वास थप बढेको छ । एउटा उत्कृष्ट पारिवारिक फिल्म बनेको भन्दै सबैले तारिफ गर्नुभयो ।’ उनी पनि दर्शकहरू फिल्मबाट निराश नहुने दाबी गर्छन् ।
‘माइतीघर’को देशभरका हलमा बुकिङ खुलिसकेको छ । फिल्मले देशव्यापी १२० बढी शो पाएको छ । केही हलले बिहान ५ः३० बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म शो दिएका छन् । अनलाइनमार्फत फिल्मको टिकट खरिद गर्ने दर्शक पनि बढिरहेका देखिन्छन् । फूलपातीदेखि ६ दिन दशैंको विदा रहेकाले फिल्मले सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’मा केदार घिमिरे (माग्ने बुढा), धीरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । ‘प्रेमगीत २’का निर्देशक रामशरण पाठकको लेखन रहेको यो फिल्मको शीर्ष गीत यतिबेला चर्चामा छ । उक्त गीतमा १ लाखभन्दा बढी टिकटक बनेका छन् ।

