Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘पेन्सनपट्टा’मा भित्रिए गुरुङ फिल्मका स्टार विश्वास र माया

फिल्मीखबर, काठमाडौं, 2025/09/24

Biswash-Maya

 

कलाकार माओत्से गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका दुई चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । निर्देशक गुरुङले दुवैसँग यसै साता लिखित सम्झौता गरेका हुन् । यसअघि फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्ध भइसकेका छन् । 

विश्वासले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, ‘फिच्यो’, ‘सिरसुवा’ लगायतका गुरुङ फिल्ममा अभिनय गरेका छन् भने मायाले ‘ह्युलै माया’, ‘च्यागी’, ‘घलेक’ जस्ता फिल्ममा मुख्य भूमिका निभाएकी छन् । ‘पेन्सनपट्टा’बाट मूलधारको फिल्ममा डेब्यु गर्न लागेका उनीहरु माओत्से गुरुङको निर्देशनमा काम गर्न उत्साहित देखिएका छन् । 

तिहारपछि छायांकन सुरु हुने फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाउनेछ । माओत्से गुरुङ फिल्म्स ब्यानरमा बन्ने फिल्मको कथा निर्देशक गुरुङ स्वयंको हो । कास्की जिल्लाको पोखरा आसपासमा छायांकन हुने फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन् । फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।

माओत्से गुरुङले निर्देशन गरेको मूलधारको पहिलो फिल्म ‘दयारानी’ बक्स अफिसमा सफल भएको थियो । त्यसअघि उनले ‘तिनागा’, ‘कृपा’ जस्ता गुरुङ भाषाका फिल्म निर्देशन गरेका थिए । उनलाई गुरुङ फिल्मका ‘गडफादर’ समेत भन्ने गरिन्छ । गुरुङ र नेपाली भाषाको गरी एक सय बढी फिल्ममा अभिनय गरिसकेका उनको नयाँ फिल्म ‘रिमै’ यतिबेला हलमा प्रदर्शनरत छ ।