.jpg)
‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइन राखेर निर्माण भएको फिल्म ‘चिराग’ आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार घटस्थापनाको दिन पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । अहिलेसम्म उक्त मितिमा अरु फिल्मको प्रदर्शन तय भएको छैन ।
पोस्टरमा एक पुरुष पात्रलाई महिलाको पहिरन र सिंगारमा प्रस्तुत गरिएको छ । उनी भूइँमा लडेको अवस्थामा छन् भने अनुहारमा कसैले जुत्ता लगाएको खुट्टाले थिचेको देखिन्छ । यसले फिल्मको कथा पहिचान र अस्तित्वको संघर्षसँग सम्बन्धित हुनसक्ने संकेत गर्छ । यद्यपि, निर्माण टिमले कथावस्तुबारे खुलाएको छैन ।
त्यागमूर्तिको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेर बहादुर डिसी, सापटी काका (मेरी बास्सै), मिनाक्षी खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य, सागर खरेल (बाल कलाकार) लगायतको अभिनय रहेको छ । फिल्मका निर्माताहरु निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेश प्रसाद भट्ट हुन् ।
डेढ करोडको लागतमा निर्माण भएको यो फिल्ममा निर्देशक त्यागमूर्ति स्वयंको संगीत तथा कोरियोग्राफी रहेको छ भने छायांकन महफूज अंसारी र राहुल राईले गरेका छन् । यसमा सुभास देवकोटाको सम्पादन, लोकनाथ सापकोटाको ब्याकग्राउन्ड म्यूजिक, डिके हमालको शृङ्गार र कल्पेश विश्वकर्माको रंग संयोजन तथा पोस्टर डिजाइन छ ।

