.jpg)
घटस्थापनाको दिन पारेर सोमबार फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ बुढासुब्बा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । तर, रिलिजको २४ घन्टा पनि नवित्दै युट्युबबाट उक्त गीत हटाइएको छ । ५ लाखभन्दा बढी भ्यूज पाइसकेको गीत अचानक हटेपछि दर्शकहरू आश्चर्यमा परेका छन् । युट्युबले नै गीत हटाएको त होइन भन्ने जिज्ञासा धेरैमा देखिएको छ ।
फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार गीतमा प्राविधिक समस्या देखिएपछि युट्युबबाट हटाइएको हो । हाल मुम्बईमा रहेका उनले फिल्मीखबरसँग भने, ‘म र निर्देशक (सुयोग गुरुङ) दुवै देशबाहिर हुँदा मिस कम्युनिकेशनका कारण अर्को फाइल अपलोड भएछ । यसैले गीतलाई हटाएका हौं । यसको नयाँ भर्सन आज बेलुका वा भोलिसम्म रिलिज गर्छौं ।’
निर्देशक सुयोग गुरुङ फिल्मको प्रचारका लागि भारतको कालिम्पोङ र निर्माता न्यौपाने काम विशेषले मुम्बई जाँदा बुढा सुब्बामा गीतको अर्को फाइल पुगेको थियो, जसमा म्यूजिकको काम राम्रोसँग भएको थिएन । यसैले निर्माण पक्षले गीतलाई रिलिजको केही घन्टामै युट्युबबाट हटाएको हो । गीतको नयाँ भर्सन रिलिज गर्न निर्देशक गुरुङ काठमाडौं आइसकेका छन् ।
प्राविधिक समस्याका कारण गीतलाई युट्युबबाट हटाइएपछि फिल्मका मुख्य अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबैसँग माफी माग्छु । प्राविधिक समस्याका कारण हाम्रो नयाँ गीत हटाउनुपर्यो । तर, चिन्ता नगर्नुस्, हामी चाँडै नयाँ संस्करण लिएर आउनेछौं ।’
यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने सुरक्षा पन्तले विशेष भूमिका निभाएकी छन् । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् ।

