नेपाली र भारतीय निर्माताले मिलेर फिल्म ‘मोना लिसा’ (ब्लडी लभ) निर्माण गर्ने भएका छन् । सोमबार घटस्थापनाको अवसरमा दुईवटा पोस्टर सार्वजनिक गर्दै यस फिल्मको निर्माण घोषणा गरिएको हो । पोस्टरले फिल्मको कथामा प्रेम र एक्सनको मिश्रण रहेको संकेत गर्छ । एउटा पोस्टरमा फूल र अर्कोमा बन्दुकलाई केन्द्रमा राखिएको छ ।
नेपालमै तयार हुने यो फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन् । नृत्य निर्देशकको रुपमा परिचित उनको यो पहिलो निर्देशकीय फिल्म हुनेछ । ठूलो बजेटमा निर्माण हुने भनिएको ‘मोना लिसा’मा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने निर्माता कम्पनी अक्स इन्टरनेशनल स्टुडियोजले जनाएको छ ।
फिल्मको घोषणासँगै कलाकार छनोट प्रक्रिया अघि बढाइएको निर्देशक योगीले जानकारी दिए । उनका अनुसार कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उद्देश्यले फिल्म निर्माण गर्न लागिएको हो । यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने लक्ष्य राखिएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाइएको छ ।

