Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘परिवर्तन’ माघ ९ मा आउने, पोस्टरमा सुशीलको एक्सन अवतार

फिल्मीखबर, काठमाडौं, 2025/09/22

Sushil shrestha

 

अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘परिवर्तन’ आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार घटस्थापनको दिन पारेर निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा सुशीललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । हातमा धारिलो हतियार लिएका उनको अनुहारमा रिसको आवेग देखिन्छ ।

पोस्टरको पृष्ठभूमिमा सुशील केही मानिसहरूको अगाडि उभिएर लड्नका लागि तयार मुद्रामा देखिएका छन्, जसले फिल्मको कथा बदलामा आधारित रहेको संकेत गर्छ । प्राप्त जानकारी अनुसार ‘परिवर्तन’मा सुशीलको अत्याधिक मात्रामा एक्सन दृश्यहरू समावेश छन् । यसमा उनको जोडी अभिनेत्री अञ्जना बराइलीसँग बाँधिएको छ । 

विजय केरुङको निर्देशनमा बनेको यो फिल्ममा सुशील र अञ्जनासहित सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ । पटकथा तथा संवाद भने शिवम् अधिकारीले तयार पारेका हुन् ।

‘परिवर्तन’को ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणले गरेका छन् भने शिव ढकालको डिओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा उमेश थापाको सह-सम्पादन रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने यो फिल्ममा नेपालको सीमा सुरक्षा र गरिब-दुःखी जनताको पीडालाई कथानक बनाइएको छ ।