
असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ सार्वजनिक गरिएको छ । सोमबार घटस्थापनाको दिन पारेर सार्वजनिक रोमान्टिक भावको गीतमा फिल्मका मुख्य जोडी अनमोल केसी र आँचल शर्मालाई प्रस्तुत गरिएको छ । मुस्ताङ र भारतको राजस्थानका दृश्यहरुमा उनीहरु रोमान्टिक देखिएका छन् ।
आशिष गुवाजु र सदिक्षा कट्टेलको युगल गायन रहेको गीतमा शब्द तथा संगीत जयन जे वाइबाको हो । वाइबाकै साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ । आशा, भरोसा, विश्वास र समर्पणको भाव व्यक्त यो गीतले फिल्मको कथावाचनमा महत्त्वपूर्ण भूमिका खेलेको निर्माण पक्षको दाबी छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र आँचलसहित जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने सुरक्षा पन्तले विशेष भूमिका निभाएकी छन् । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । हेमराज बिसीको कथा रहेको फिल्ममा विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन, जयन जे वाइबा, कालिप्रसाद बाँस्कोटा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । ‘जेरी अन टप’को यसअघि टिजर रिलिज भइसकेको छ ।

