Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

फूलपातीबाट पनि सर्‍यो ‘अभिमन्यु’, अब असोज २४ मा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2025/09/21

abhimanyu

 

सस्पेन्स थ्रिलर फिल्म ‘अभिमन्युः च्याप्टर वान’को प्रदर्शन मिति पुनः सरेको छ । जेनजी आन्दोलनका कारण भदौ २७ गतेबाट सरेर असोज १३ गते फूलपातीमा पुगेको यो फिल्म अब असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार निर्माता कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्ति जारी गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २७ गते प्रदर्शन गर्ने तयारीमा रहेको ‘अभिमन्यु’ देशमा चलेको जेनजी आन्दोलनका कारण स्थगित गर्नुपरेको थियो । असोज १३ मा धेरै फिल्म रिलिज हुने भएकाले पर्याप्त शो सुनिश्चित गर्न कठिन हुने देखियो । साथै यसले अन्य नेपाली फिल्मलाई पनि असर पार्ने भएकाले हामीले अन्तिम रुपमा असोज २४ गतेलाई प्रदर्शन मिति तय गरेका छौँ ।’

विज्ञप्तिमा ‘अभिमन्यु’को हिन्दी भर्सन पनि असोज २४ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शन हुने उल्लेख छ । यो फिल्मको हिन्दी संस्करणमा चर्चित भारतीय भ्वाइस आर्टिस्ट सचिन गोलेले अभिनेता कामेश्वर चौरासियाको पात्रमा आवाज दिएका छन् । उनले हालै भिडियो सन्देशमार्फत मेकरहरूको मिहिनेतको प्रशंसा गर्दै फिल्म राम्रो बनेको बताएका छन् ।

सुशान्त गौतमको निर्देशनमा बनेको ‘अभिमन्यु’मा कामेश्वरसँगै लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । शरद महतोको छायांकन रहेको फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माताको रूपमा छन् भने सह-निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । विनोद र रमेश कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता हुन् ।