Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अभिमन्यु’को हिन्दी भर्सनमा ‘केजीएफ’का भ्वाइस आर्टिस्ट सचिनको आवाज

फिल्मीखबर, काठमाडौं, 2025/09/21

abhimanyu

 

यसपालिको दशैंमा फिल्म ‘अभिमन्य’को नेपाली र हिन्दी संस्करण प्रदर्शन हुँदैछ । असोज १३ गते फूलपातीमा नेपाली र असोज १६ गते दशैंको टीकामा हिन्दी भर्सन हलमा लाग्नेछ । फिल्मको दुवै भाषाको काम पूरा भइसकेको निर्माण टिमले जनाएको छ । हालै फिल्मको हिन्दी भर्सनको सानो अंश सार्वजनिक गरिएको छ, जसमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ । 

फिल्मको हिन्दी भर्सनमा चर्चित भारतीय भ्वाइस आर्टिस्ट सचिन गोलेले कामेश्वरको पात्रमा आवाज दिएका छन् । सार्वजनिक भिडियोमा उनको आवाज प्रभावशाली देखिएको छ । साउथ फिल्म ‘केजीएफ’को हिन्दी भर्सनमा अभिनेता यशको पात्रमा आवाज दिएका उनले यसअघि ‘प्रेमगीत ३’, ‘गोर्खा वारिअर’ जस्ता नेपाली फिल्मको पनि हिन्दी डब गरिसकेका छन् ।

‘अभिमन्यु’मा आवाज दिने क्रममा सचिनले भिडियो सन्देशमार्फत् फिल्म राम्रो बनेको बताएका छन् । उनले भनेका छन्, ‘एकदमै मज्जा आयो डब गर्न । मेकरले निकै मिहिनेत गरेर साह्रै राम्रो फिल्म बनाएका छन् । नेपाली फिल्म जसरी निखारिएको आएको छ, त्यसका लागि मेकरलाई सलुट छ । यस्तो लाग्छ, ‘अभिमन्यु’ मेरो लागि नै लेखिएको थियो ।’ 

सुशान्त गौतमको निर्देशनमा बनेको यो फिल्ममा कामेश्वर र लक्ष्मीसहित शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । शरद महतोको छायांकन रहेको फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माताको रुपमा छन् भने सह-निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । विनोद र रमेश कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता हुन् ।