Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हरिबहादुरको जुत्ता’को ट्रेलर : हरिवंशका तीन श्रीमती, स्वस्तिमा नेता

काठमाडौं, काठमाडौं, 2025/09/20

Hari Bansha Acharya, Swastima

 

यसपालिको दशैंको फूलपाती (१३ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेटभन्दा लामो ट्रेलरमा अभिनेता हरिवंश आचार्यलाई केन्द्रमा राखिएको छ । फिल्ममा उनी आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिकामा छन् । सोही पात्रको जीवनमा आएका उतारचढावलाई नै ट्रेलरमा प्रस्तुत गरिएको छ ।

ट्रेलरको पहिलो दृश्यमै हरिबहादुर जेलबाट निस्किएको देखिन्छ भने अन्त्यमा फेरि ऊ जेलमै पुगेको छ । बीचमा उसले समाजमा पुनःस्थापित हुन गरेको संघर्ष र राजनीतिक दाउपेचलाई हास्य शैलीमा देखाइएको छ । ट्रेलरले सजाय काटेर फर्केको व्यक्तिलाई समाजले गर्ने अपमान र अविश्वासका कारण ऊ पुनः गलत बाटोमा कसरी धकेलिन्छ भन्ने कथामा फिल्म बनेको संकेत दिएको छ ।

ट्रेलरमा हरिवंश तीन श्रीमतीसहित देखिएका छन् भने स्वस्तिमा खड्का नेताको भूमिकामा छिन् । एक दृश्यमा उनले उम्मेदवार बनेर जनतासँग भोट मागिरहेको देखिन्छ । प्रकाश सपूतलाई साइबर सेना परिचालन गर्ने व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै प्रियंका कार्की प्रहरीको भूमिकामा देखिएकी छन् । ट्रेलर हेर्दा फिल्म पूर्ण रूपमा हास्यप्रधान रहेको बुझ्न सकिन्छ । 

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’मा हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतको पनि अभिनय रहेको छ । सरोज ओली र मोहितवंश आचार्यको संयुक्त निर्माण रहेको फिल्ममा कृष्ण बहादुर थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन छ । यो फिल्मको ‘बेला बितेसी’ गीत यतिबेला चर्चामा छ ।