
अभिनेता तथा रोडिजका ग्याङ्ग लिडर अनुप विक्रम शाही अब बलिउड फिल्ममा देखिने भएका छन् । त्यो पनि भारतीय सुपरस्टार सलमान खानको साथमा । वार ड्रामा ‘ब्याटल अफ गलवान’बाट अनुपले बलिउड यात्रा सुरु गरेका हुन् । एक साताअघि भारतको उत्तर-पश्चिम क्षेत्रमा अवस्थित लद्दाखमा गरिएको फिल्मको पहिलो चरणको छायांकनमा अनुपले सलमानसँगै अभिनय गरेका थिए ।
अनुपले बलिउड यात्रालाई लिएर आफू उत्साहित रहेको बताएका छन् । सुटिङ सेटका केही तस्विर सेअर गर्दै उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘लद्दाखमा मेरो पहिलो बलिउड फिल्मको पहिलो सेड्युल पूरा गर्न पाउँदा अत्यन्त सम्मानित र कृतज्ञ महसुस गरिरहेको छु । सलमान खान सर र अपूर्व लाखिया (निर्देशक) सँग अगाडिको यात्राका लागि एकदमै उत्साहित छु ।’
अनुप जेनजी आन्दोलन सकिए लगत्तै फिल्मको छायांकनका लागि लद्दाख पुगेका थिए । तीन दिन छायांकन गरेर नेपाल फर्किएका उनी एक महिनापछि मुम्बईमा हुने दोस्रो चरणको छायांकनमा पनि सहभागी हुनेछन् । यसको मतलब फिल्ममा उनको भूमिका महत्त्वपूर्ण छ । लद्दाखमा छायांकनको क्रममा सलमानले नेपालको कला र संस्कृतिबारे निकै चासो राखेको अनुपले बताएका छन् ।
‘ब्याटल अफ गलवान’ सन् २०२० मा लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपको कथामा आधारित छ, जसमा सलमान भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिकामा छन् । यो सन्तोषको बायोपिक फिल्म हो । यसमा सलमान र अनुपसँगै चित्रांगदा सिंह, सुरेश नायर, अंकुर भाटिया लगायतको पनि अभिनय रहेको छ ।

