Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२२ वर्षपछि फिल्ममा देखिँदै ‘दर्पण छायाँ’ जोडी

फिल्मीखबर, काठमाडौं, 2025/09/19

Uttam Pradhan and Niruta sing

 

कालजयी फिल्म ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंहलाई दर्शकले दुई दशकपछि फेरि एकसाथ फिल्ममा हेर्न पाउने भएका छन् । पछिल्लो पटक सन् २००३ मा प्रदर्शन भएको ‘उपहार’मा देखिएका उनीहरूले अब नयाँ फिल्म ‘महादशा’मा अभिनय गर्न लागेका हुन् । फिल्मका निर्देशक किरण नेपालीले शुक्रबार सामाजिक सञ्जालमार्फत् यसको पुष्टि गरेका छन् ।

किरणले उत्तम र निरुतासँग खिचेका तस्वीर सेअर गर्दै लेखेका छन्, ‘जीवनमा तपाईंहरुकै ‘दर्पण छायाँ’ जस्तो फिल्म हेरेर प्रेरणा मिल्यो । आज आफ्नै निर्देशनमा हजुरहरूसँग काम गर्ने अवसर जुर्‍यो, खुसी र हर्ष छ नै । फिल्मलाई राम्रो गर्ने नै छौं ।’ ‘दुई नम्बरी’, ‘हात्तीछाप’ जस्ता फिल्म बनाइसकेका किरणले ‘महादशा’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । 

हालै उत्तमले किरणको नयाँ फिल्म ‘कल्ली’बाट १३ वर्षपछि कमब्याक गरेका हुन् । निरुताले भने फिल्म ‘३६ को आँकडा’बाट ६ वर्षपछि कमब्याक गरेकी छिन् । यही फिल्मको छायांकनका लागि हाल नेपालमा रहेकी उनीसँग किरणले यसै साता लिखित सम्झौता गरेका हुन् । फिल्ममा उत्तम र निरुता जोडीको रूपमा प्रस्तुत हुने जनाइएको छ ।

दशैंपछि छायांकन सुरू हुने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे, हाकिम गुरुङ, रेअर राई लगायतको पनि अभिनय रहनेछ । मनिष गौतमको लेखन रहेको फिल्ममा राज के. शाह, श्याम मगर र अमला देवी राई निर्मातामा छन् । फिल्ममा संस्कार, संस्कृति र अध्यात्मसँगै मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मले पार्ने प्रभावलाई कथावस्तुको रूपमा प्रस्तुत गरिने जनाइएको छ ।