.jpg)
२०७२ सालमा काठमाडौंको माइतीघर मण्डलामा भएको कार दुर्घटनाको चर्चा अझै हुने गरेको छ । विभत्स तरिकाले दुर्घटना भएको कार (बा १२ च ६१००) कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया (कैलाश सिरोहियाका छोरा)ले चलाएको र त्यसमा सवार दुई युवतीमध्ये अभिनेत्री नीति शाह पनि एक रहेको बताइन्छ । तर, उक्त घटनाबारे प्रहरीमा भने कुनै रेकर्ड छैन ।
जेनजी आन्दोलनको क्रममा कान्तिपुर मिडियाको भवनमा आगजनी भएपछि कार दुर्घटना प्रकरण फेरि चर्चामा आएको छ । केही व्यक्तिले नीतिलाई ट्याग गर्दै सामाजिक सञ्जालमा पोस्टहरू लेख्न थालेपछि उनले बिहीबार इन्स्टाग्राम स्टोरीमार्फत स्पष्टीकरण दिएकी छन् । उनले सम्भवसँग आफू ८ वर्षसम्म प्रेममा रहेको भएपनि कार दुर्घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।
‘म सम्भव सिरोहियासँग ८ वर्षसम्म सम्बन्धमा थिएँ । यो मेरो लागि स्वस्थ सम्बन्ध थिएन र यो समाप्त भएपछि म गहिरो चिन्ताबाट गुज्रिएँ । यो मेरो सत्य हो, र म यसबाट अगाडि बढिसकेको छु,’ उनी अगाडि लेख्छिन्, ‘मलाई धम्की दिने, भिडियोमा ट्याग गर्ने, वा कथित ‘हिट एन्ड रन’ घटनाको हिस्सा भएको आरोप लगाउनेलाई अन्तिम पटक प्रष्ट पार्न चाहन्छु कि म त्यहाँ उपस्थित थिइनँ ।’

उनले कार दुर्घटनाबारे आफूसँग नभइ त्यसमा संलग्न व्यक्तिलाई सोध्न आग्रह गरेकी छन् । उनले अब धम्की दिन, ट्याग गर्न, र कार दुर्घटनाको बारेमा जिस्क्याउन बन्द गर्न आग्रह गर्दै भनेकी छन्, ‘मलाई केही पनि थाहा छैन, त्यसमा को संलग्न थियो, के भयो वा कोही घाइते कि भएनन् । त्यसैले कृपया मेरो नाम त्यस्तो घटनासँग जोड्न बन्द गर्नुहोस्, जसमा मेरो कुनै पनि संलग्नता थिएन ।’
नीतिले आफ्नो कसैप्रति नराम्रो मनसाय नरहेको र जीवनभरि सधैं इमानदारी र सम्मानका साथ व्यवहार गर्ने प्रयास गरेकाले घृणा फैलाउन पुराना कथा र भिडियो ल्याइएकोमा दुःख व्यक्त गरेकी छन् । उनको यो पोस्ट सम्भवले पनि इन्स्टा स्टोरीमा सेअर गर्दै काठमाडौंका मेयर बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङ (राई)लाई ‘यू आर माइ ट्रु लभ’ भन्दै लेखेको स्टाटस राखेका छन् ।

