Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइतीघर’को ट्रेलरमा त्रिकोणात्मक प्रेम र सांस्कृतिक द्वन्द्व

फिल्मीखबर, काठमाडौं, 2025/09/18

 Dhiraj Magar, Upasana Singh, Shyama Shree, Kedar, Prakash

 

यसपालिको दशैंको फूलपाती (१३ असोज)मा प्रदर्शन हुन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि निर्माण पक्षले युट्युबमार्फत ट्रेलर दर्शकमाझ ल्याएको हो । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा मुख्यतः त्रिकोणात्मक प्रेमकथा र सांस्कृतिक द्वन्द्वको वरिपरि घुमेको स्पष्ट पार्छ ।

ट्रेलर अनुसार फिल्मका मुख्य जोडी प्रकाश सपूत र उपासना सिंह ठकुरी प्रेम सम्बन्धमा छन् । तर, जातीय पृष्ठभूमि फरक हुँदा उनीहरुको सम्बन्ध संकटमा पर्छ । यस्तैमा धीरज मगरको प्रवेशले कथामा थप द्वन्द्व सिर्जना गरेको देखिन्छ । प्रेम, परिवार र सांस्कृतिक मूल्यबीचको संघर्ष र भावनात्मक उतारचढावलाई फिल्मले रोचक ढंगले प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ ।

मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा प्रकाश, उपासना र धीरजसहित केदार घिमिरे, श्यामाश्री शेर्पा, वराज लामा, वुद्दि तामाङ, रजनी गुरुङ लगायतको अभिनय रहेको छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मको कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन् । रोहित अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मका लेखक रामशरण पाठक हुन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तामाङले ६-७ वर्ष अनुसन्धान गरेर ‘माइतीघर’को कथा तयार पारेको बताए । उनले भने, ‘फिल्म तामाङ संस्कृतिमा आधारित छ । यसैले यो समुदायको सांस्कृतिक पक्ष बुझ्न ६-७ वर्ष नै रिसर्च गरेँ । त्यही रिसर्चको क्रममा भेटिएका चिजलाई नै फिल्ममा उतारेका छौं ।’ यो उनको पहिलो निर्देशकीय फिल्म हो ।