
आगामी कात्तिकमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । यो महिना आधा दर्जनभन्दा बढी फिल्म प्रदर्शनको तयारीमा छन् । त्यसमध्ये एक हो, ‘परान’ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक १४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । अहिलेसम्म उक्त मितिमा अरू फिल्म भने छैनन् ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी महेश त्रिपाठी र अञ्जना बराइलीलाई प्रस्तुत गरिएको छ । महेशको अंगालोमा खुसी मुद्रामा देखिएकी अञ्जनाले सिउँदोमा सिन्दुर लगाएकी छन्, जसले उनीहरू दम्पतीको भूमिकामा रहेको स्पष्ट पार्छ । महेश भने गम्भीर मुद्रामा देखिएका छन् । यसले दाम्पत्य जीवनमा आउने चुनौती र उचारचढावसँगै भावनात्मक द्वन्द्वको संकेत दिन्छ ।
‘सासले हैन, साथले चल्ने’ ट्यागलाइन राखिएको यो फिल्मलाई दीपक प्रसाद आचार्यले निर्देशन गरेका हुन् । ‘काकु’को रुपमा परिचित उनको यो पहिलो निर्देशकीय फिल्म हो । देशको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको फिल्मका निर्माताहरू शेखर गोल्छा र रञ्जित आचार्य हुन् । उद्योगपछि शेखरले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् ।
निर्देशक आचार्यको कथा तथा यम थापाको पटकथा तथा संवाद रहेको फिल्ममा महेश र अञ्जनासहित नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्य लगायतको पनि अभिनय रहेको छ । यसमा शिवराम श्रेष्ठको डिओपी छ ।

