.jpg)
अमेरिकामा अर्को वर्ष (सन् २०२६ मा) हुने ९८औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा गत वर्षको सुपरहिट फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले यो फिल्मलाई ओस्कारका लागि सिफारिस गरेको हो । समितिका अनुसार ‘अञ्जिला’ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्नेछ ।
समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो ।’ अस्कारमा सहभागी हुन ‘अञ्जिला’सँगै ‘गुन्यो चोलो’का निर्माताले पनि आवेदन दिएका थिए ।
मिलन चाम्सको निर्देशनमा बनेको ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ । यसमा एञ्जिला स्वयंले आफ्नो भूमिका निर्वाह गरेकी छन् भने उनीसँगै दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुनिल थापा लगायतको पनि अभिनय रहेको छ । प्रेम कुमार श्रेष्ठ फिल्मका निर्माता हुन् ।

