
फिल्म ‘नाइँ नभन्नू ल २’को एउटा चर्चित गीत छ, ‘भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन ।’ फिल्म ‘सोल्टिनी’को अवस्था अहिले ठीक यो गीतले भनेजस्तै छ । यो फिल्मलाई भागेर जहाँ गए पनि ‘जारी २’ जुध्न नआउने मिति भेट्न गाह्रो परेको छ । दुई-दुई पटक आफूले घोषणा गरेको मितिमा ‘जारी २’ आएपछि ‘सोल्टिनी’सँग अब प्रतिस्पर्धा गर्नुबाहेक अर्को विकल्प देखिँदैन ।
यो फिल्मले ६ महिनाअघि असोज ३ गते (संविधान दिवस)लाई प्रदर्शन मिति तय गरेको थियो । फिल्मको छायांकन सकिँदासम्म यो मितिमा अरु फिल्म थिएनन् । तर, साउनमा अचानक ‘जारी २’ले असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्यो । यो ब्लकबस्टर फिल्मको सिक्वेल भएकाले ‘सोल्टिनी’ले भिड्ने आँट गरेन र एक महिना पछाडि सर्दै कात्तिक ६ गते प्रदर्शनमा आउने निधो गर्यो ।
तर, उक्त मितिमा पनि फेरि ‘जारी २’ आइपुगेको छ । जेनजी आन्दोलनका कारण असोज ३ गते रिलिज गर्न असम्भव भएपछि यो फिल्मलाई अब कात्तिक ६ गते भाइटीकामा प्रदर्शन गरिँदैछ । दोस्रो पटक पनि ‘जारी २’ भिड्न आएपछि अब भने ‘सोल्टिनी’लाई नसार्ने मनस्थितिमा यसका निर्माता छन् । रोचक त के छ भने यी दुवै फिल्म एउटै समुदायको कथामा आधारित भएर बनेका हुन् ।
भाइटीकामा ‘जारी २’ र ‘सोल्टिनी’सँगै ‘वरिष्ठ बलराम’ पनि प्रदर्शनको तयारीमा छ भने यसको भोलिपल्ट (७ कात्तिक)मा विल्सन विक्रम राई निर्देशित फिल्म ‘मैझारो’ प्रदर्शन हुँदैछ । यसरी हेर्दा तिहारमा चार फिल्मबीच भिडन्त हुने भएको छ । यसको असर चारवटै फिल्मको व्यापारमा पर्ने निश्चित छ । शो र दर्शक दुवै बाँडिने भएकाले यी फिल्मको प्रदर्शन यात्रा चुनौतीपूर्ण बन्ने देखिन्छ ।

