.jpg)
संविधान दिवसको दिन पारेर यही असोज ३ गते प्रदर्शन हुने भनिएको फिल्म ‘जारी २’ पूर्वनिर्धारित मितिबाट एक महिना पछाडि सरेको छ । मंगलबार निर्माता कम्पनी बाँसुरी फिल्म्सले दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ६ गते (भाइटीका)लाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।
‘जारी २’को रिलिज सर्नुको मुख्य कारण हालैको जेनजी आन्दोलन हो, जसमा ७० भन्दा बढीले ज्यान गुमाएका छन् । यस्तो दुःखद परिस्थितिमा फिल्म रिलिज गर्नु उपयुक्त नहुने भन्दै निर्माण पक्षले फिल्मलाई एक महिना पछाडि धकेलेको हो । जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण फिल्मको प्रचारदेखि ट्रेलर रिलिज समेत रोकिएको थियो ।
कात्तिक ६ गते ‘जारी २’ले एकल रिलिजको अवसर भने पाउने छैन । उक्त मिति पहिले नै दुई फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले प्रदर्शनका लागि रोजिसकेका छन् । यसको भोलिपल्ट (कात्तिक ७ गते) अर्को फिल्म ‘मैझारो’ प्रदर्शनको तयारीमा छ । स्रोतका अनुसार ‘वरिष्ठ बलराम’लाई पछाडि सारेर ‘जारी २’लाई भाइटीकामा रिलिज गर्न लागिएको हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ ।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्मका निर्माताहरू रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।

