Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’को छायांकनमा जोडिए साइग्रेस, जोडी उषा कि सिम्रन ?

फिल्मीखबर, काठमाडौं, 2025/09/16

Saigrace Pokharel

 

नेपाली कथावाचनका चर्चित नाम हुन्, साइग्रेस पोखरेल । मीठासपूर्ण कथावाचन शैलीका कारण ‘सेलिब्रेटी’ छवि बनाएका उनी अब अभिनेताको रुपमा ठूलो पर्दामा देखिँदैछन् । चन्द्र पन्तको निर्देशनमा बनिरहेको नयाँ फिल्म ‘आ बाट आमा’बाट उनले डेब्यु गर्न लागेका हुन् । सोमबार स्पेनको बार्सिलोनाबाट नेपाल आएका उनले मंगलबार चितवनमा फिल्मको छायांकन सुरु गरेका छन् ।

फिल्ममा साइग्रेसको भूमिकाबारे निर्माण पक्षले कुनै जानकारी गराएको छैन । यद्यपि, उनी मुख्य पात्रमध्ये एक रहेको जनाइएको छ । स्रोतका अनुसार फिल्ममा उनको जोडीको रुपमा उषा उप्रेती देखिनेछिन् । ‘आ बाट आमा’ साइग्रेसको पहिलो फिल्म भए पनि उनले यसअघि दुई गीत ‘जाँदा माया हाँस्दै जानु ल’, र ‘तिमी बिनाको जीवन’को म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

यो फिल्ममा साइग्रेस र उषासहित पल शाह, विपना थापा, प्रदीप रावत (बलिउड अभिनेता), सिम्रन पन्त लगायतको पनि अभिनय रहेको छ । फिल्ममा पलको बुबाको भूमिकामा रहेका प्रदीपले १९ दिनदेखि चितवनमा फिल्मको छायांकन गरिरहेका छन् । श्रीमती कल्याणी रावतको साथमा नेपाल आएका उनले यसअघि पनि चन्द्रकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए ।

कृष्ण प्रसाद सुवेदी प्रस्तुतकर्ता रहेको ‘आ बाट आमा’मा ध्रुव न्यौपाने र प्रकाश कुँवर निर्मातामा छन् । फिल्मको कार्यकारी निर्माता करण सिंह र सह-निर्माता छितिज ढुङ्गाना हुन् । फिल्मलाई यस वर्षको फागुन १५ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ । तर, २१ फागुनलाई अन्तरिम सरकारले प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेकाले फिल्मको प्रदर्शन प्रभावित हुने देखिन्छ ।