Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लयमा फर्किँदै फिल्म क्षेत्र, आधा दर्जन फिल्म छायांकनमा

फिल्मीखबर, काठमाडौं, 2025/09/16

nepali movie

 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण एक साता देशका सबै क्षेत्र प्रभावित भए । त्यसबाट फिल्म क्षेत्र पनि अछुतो रहन सकेन । आन्दोलनकै कारण हलहरु बन्द भए । प्रदर्शनको तयारीमा रहेका र छायांकन भइरहेका फिल्म समेत रोकिए । गत शुक्रबार अन्तरिम सरकार गठन भएपछि भने फिल्म क्षेत्रमा फेरि चहलपहल सुरु भएको छ ।

जेनजी आन्दोलनका कारण प्रदर्शन स्थगित भएका फिल्मले नयाँ मिति घोषणा गर्न थालेका छन् भने रोकिएका फिल्मको छायांकन पनि सुचारू भएको छ । आन्दोलनले उग्र रुप लिएपछि गत मंगलबारबाट रोकिएको फिल्म ‘३६ को आँकडा’को छायांकन शनिबारबाट फेरि सुरु भइसकेको छ । फिल्मको छायांकन दशैंअघि सक्ने तयारी भइरहेको निर्देशक सविर श्रेष्ठले जानकारी दिए ।

आन्दोलनका कारण निर्देशक दिनेश राउतको फिल्म ‘कुमारी’को पनि ६ दिन छायांकन रोकिएको थियो । स्थिति सामान्य भएपछि उनले सोमबारबाट पुनः काठमाडौंमा फिल्मको छायांकन सुरु गरेका छन् । प्रकु पाण्डेयको निर्देशनमा बनिरहेको फिल्म ‘मालती मंगले’को पनि दुई दिन छायांकन स्थगन गरेर बिहीबारबाट पुनः सुरु गरिएको छ । यसको छायांकन तनहुँ जिल्लामा भइरहेको छ ।

जेनजी आन्दोलनले ‘काजी’, ‘क्याप्टेन साहेब’, ‘गोबर गणेश’ जस्ता फिल्मको पनि छायांकन रोकिएको थियो । स्थिति सामान्य भएसँगै यी फिल्महरु फेरि छायांकनमा निस्किसकेका छन् । सोमबारबाट ‘परालको आगो’को पनि छायांकन थालिएको छ । यसरी हेर्दा फिल्म क्षेत्र फेरि पुरानै लयमा फर्किन थालेको देखिन्छ । फूलपातीमा प्रदर्शन हुने फिल्मले थप माहोल बनाउने अपेक्षा गरिएको छ ।