जेनजी आन्दोलनले उग्र रुप लिएपछि भदौ २४ गते (मंगलबार)देखि बन्द रहेका देशभरका हलहरू पुनः सञ्चालनमा आएका छन् । हलवाला र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले आवश्यक सुरक्षा सतर्कता अपनाएर हल खोल्ने निर्णय गरेपछि सोमबारदेखि हलहरू सुचारु भएका हुन् ।
हल खुलेसँगै ‘रिमै’, ‘कोशेढुंगा’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘मोहर’, ‘गुन्यो चोलो’, ‘बागी ४’, ‘परम सुन्दरी’ र ‘द कोन्जूरिङ : लास्ट राइट्स’को प्रदर्शनलाई निरन्तरता दिइएको छ । जेनजी आन्दोलनपछि हलहरू बन्द हुँदा सबैभन्दा बढी मार ‘रिमै’लाई परेको थियो । किनकि, यो फिल्म रिलिज भएको तीन दिन मात्र भएको थियो ।
नेपालमा १६५ वटा हल रहेकोमा सोमबारबाट विराटनगरको क्यूएफएक्स हलबाहेक अरू सञ्चालनमा आएको संघले जनाएको छ । विराटनगरको क्यूएफएक्स हल आन्दोलनको क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएको छ, जुन १५ करोडको लागतमा बनेको थियो । योसहित अन्य चारवटा हलमा पनि आगजनी र तोडफोड हुँदा १७ करोडको क्षति भएको जनाइएको छ ।
६ दिनपछि सञ्चालनमा आएका हलमा नयाँ फिल्म भने फूलपातीमा मात्रै रिलिज हुनेछन् । असोज ३ गते प्रदर्शन हुने भनिएको ‘जारी २’ पोस्टपोन्ड भएकाले उक्त मिति खाली भएको छ । फूलपातीमा भने ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘अभिमन्यु’ गरी चार फिल्म प्रदर्शनमा आउँदैछन् । र, विजयादशमीको दिन भारतीय फिल्म ‘कान्तारा २’ रिलिज हुनेछ ।

