Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेनजी आन्दोलनपछि बन्द हलहरू सोमबारबाट खुल्ने

फिल्मीखबर, काठमाडौं, 2025/09/14

९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा

 

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण ६ दिनदेखि बन्द रहेका देशभरका हलहरू सोमबारबाट खुल्ने भएका छन् । आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले सुरक्षा सतर्कता अपनाउँदै हल खोल्ने निर्णय गरेको हो । गत सोमबार जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि संघले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेको थियो ।  

चलचित्र संघका अनुसार आन्दोलनको क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको विराटनगरको क्यूएफएक्स हलबाहेक अरु हलहरू सोमबारबाट सञ्चालनमा आउनेछन् । विराटनगरको क्यूएफएक्स हल जलेर पूर्ण रूपमा ध्वस्त भएको छ, जुन १५ करोडको लागतमा बनेको थियो । योसहित अन्य चारवटा हलमा पनि आगजनी र तोडफोड हुँदा १७ करोडको क्षति भएको जनाइएको छ ।

संघले हल खोल्ने निर्णयसँगै राति १० बजेभित्र बन्द गर्न निर्देशन दिएको खबरमा भने सत्यता नरहेको संघका उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए । उनले भने, ‘संघले १० बजेभित्र हल बन्द गर्न निर्देशन दिएको छैन । सुरक्षा सतर्कता अपनाउँदै हल सञ्चालन गर्न मात्र भनेको छ ।’ संघका अध्यक्ष नरेन्द्र महर्जनले पनि १० बजेभित्र हल बन्द गर्ने निर्णय नभएको बताए । 

सोमबारबाट हलहरू सञ्चालनमा आएसँगै ‘रिमै’, ‘कोशेढुंगा’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘मोहर’, ‘गुन्यो चोलो’, ‘बागी ४’ लगायतका फिल्मको प्रदर्शनलाई निरतन्तरता दिइने जनाइएको छ । जेनजी आन्दोलनका कारण हलहरु बन्द हुँदा सबैभन्दा मारमा ‘रिमै’ परेको थियो । यो फिल्म रिलिज भएको तीन दिन मात्र भएको थियो ।