
बलिउड अभिनेता टाइगर श्रोफको करिअर यतिबेला संकटमा छ । श्रृंखलाबद्ध रुपमा उनका फिल्महरु असफल भइरहेका छन् । गएको ५ वर्षमा उनले एउटा पनि हिट फिल्म पाएका छैनन् । उनको पछिल्लो सफल फिल्म ‘वार’ थियो, जुन सन् २०१९ मा रिलिज भएको थियो । सन् २०२० मा आएको ‘बागी ३’ भने औसत रह्यो । यसपछि उनका फिल्मको असफलताको श्रृंखला रोकिएको छैन ।
‘हिरोपन्ती २’, ‘गणपत’, ‘बढे मियाँ छोटे मियाँ’ र अब टाइगरको नयाँ फिल्म ‘बागी ४’ पनि असफल भएको छ । गत सेप्टेम्बर ५ मा रिलिज भएको यो फिल्मले पहिलो हप्ता सुखद व्यापार गरेको भए पनि दोस्रो हप्तापछि बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ । दोस्रो हप्ताको शनिबारसम्म फिल्मले ४६ करोड नेट कमाएको छ । पहिलो हप्ता फिल्मको व्यापार ४४ करोड ५ लाख थियो ।
शनिबार ८४ लाख मात्र कमाइ गरेको ‘बागी ४’ले अब लगानी उठाउन असम्भव देखिन्छ । यो फिल्म ८० करोडको लागतमा बनेको हो । अब फिल्मको व्यापार लाखमा झरेकाले बढीमा ५० करोड कमाउन सक्ने आँकलन गरिएको छ । भारतीय मिडियाका अनुसार फिल्मका निर्मातालाई हलको कमाइबाट घाटा भए पनि ओटीटी र स्याटेलाइट राइट्सबाट लगानी भने सुरक्षित भएको छ ।
लभस्टोरी र एक्सन विधामा बनेको ‘बागी ४’मा टाइगरसहित सञ्जय दत्त, हरनाज सन्धु, सोनम बाजवा, सौरभ सचदेवा लगायतको अभिनय छ । कन्नड भाषी ए. हर्षले निर्देशन गरेको यो फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । ‘बागी ४’अघि साजिदका ‘सिकन्दर’ र ‘हाउसफुल ५’ पनि असफल भएका थिए । एक वर्षमै तीन फिल्म फ्लप हुँदा उनी ठूलो आर्थिक संकटमा परेका छन् ।

