Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब युवापुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ : मदनकृष्ण श्रेष्ठ

फिल्मीखबर, काठमाडौं, 2025/09/10

Madan Krishna Shrestha

 

कलाकार मदनकृष्ण श्रेष्ठले अब युवापुस्तालाई नेतृत्वको जिम्मा दिनुपर्ने बताएका छन् । उनले फेसबुकमा एक पोस्ट लेख्दै ५० वर्ष पहिलेका युवाभन्दा अहिलेका युवा बौद्धिक रहेकाले उनीहरूलाई नै नेतृत्वको जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गरेका हुन् । उनले समय अनुसार नहिँड्नेलाई समयले छोडिदिन्छ भन्ने कुरा जेनजी आन्दोलनले प्रष्टसँग देखाएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘युवाशक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदिए । अबको समय संयम भएर संसारभरि छरिएर बसेका नेपालीहरू समेत एकजुट भएर हाम्रा अमुल्य भौतिक संरचनालाई जोगाउने, संरक्षण गर्ने, पुनर्निर्माण गर्ने र भ्रष्टाचाररहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने विन्दूमा आइपुगेका छौं ।’

कलाकार श्रेष्ठले आन्दोलनमा हत्या भएका युवाहरूको तस्वीर देखेर आफ्नो मन भक्कानिएको बताउँदै मानिसहरू यतिसम्म कठोर हुनसक्छन् भन्ने कुरा आफूले कल्पना पनि गर्न नसकेको बताएका छन् । उनले अबोध बालबालिकालाई निर्ममपूर्वक कसरी गोली चलाउन सकेको होला भन्ने कुराले आफूलाई निदाउन गाह्रो भएपछि औषधी खानुपरेको समेत उल्लेख गरेका छन् । 

जेनजीको आन्दोलन सुरु हुनुभन्दा अगाडि पनि उनले फेसबुकमा एक पोस्ट लेख्दै जेनजीहरूको आवाज सरकारले गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिएका थिए । उनले लेखेका थिए, ‘जेनजीको अवाज सुनिनु पर्छ, भ्रष्टचारीहरू थुनिनु पर्छ, नागरिकहरूको चाहना बुझ्ने नेता चुनिनु पर्छ, अन्तमा देशको सपना बुनिनु पर्छ ।’