.jpg)
सोमबार जेनजीको प्रदर्शनमा सरकारको बर्बर दमनबाट मृत्यु भएका १९ जनाको शोकमा मंगलबार देशभरका हलहरू बन्द भए । हल व्यवसायी र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघको आह्वानमा हलहरू बन्द गरिएको थियो । मंगलबार जेनजी आन्दोलनले हिंसात्मक मोड लिएपछि बुधबार पनि हलहरू बन्द रहने भएका छन् ।
चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले अब परिस्थिति सामान्य नहुँदासम्म हलहरू सञ्चालन नहुने बताए । उनले भने, ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं । कति सहरमा अझै कर्फ्यु जारी छ । सेनाले पनि नागरिकलाई घरभित्रै बस्न आग्रह गरिरहेको अवस्थामा हल खोलेर कामै छैन । अब स्थिति पूर्ण रूपले सामान्य भएपछि मात्र हल खुल्छन् ।’
जेनजीको प्रदर्शनपछि उत्पन्न परिस्थितिले ‘रिमै’, ‘कोशेढुंगा’, ‘माग्ने राजा’, ‘गुन्यु चोलो’, ‘मोहर’ जस्ता नेपाली फिल्मको प्रदर्शन प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित नयाँ रिलिज फिल्म ‘रिमै’ भएको छ । यो फिल्म गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । जेनजीको आन्दोलनका कारण मंगलबारबाट हलहरू बन्द हुँदा फिल्मको प्रदर्शन तीन दिनमै रोकिएको छ ।
आन्दोलनको प्रभाव प्रदर्शनको तयारीमा रहेका फिल्महरूमा पनि परेको छ । यही शुक्रबार रिलिज हुने भनिएको ‘अभिमन्यु’को प्रदर्शन नै स्थगन गरिएको छ । असोज ३ गते रिलिजको तयारीमा रहेको ‘जारी २’को भविष्य पनि अनिश्चित बनेको छ । मंगलबार यसको ट्रेलर रिलिज आन्दोलनकै कारण स्थगित गरियो । अब तोकिएको मितिमा फिल्म रिलिज हुनेमा शंका उत्पन्न भएको छ ।

