Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

जेनजी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’को प्रदर्शन स्थगित

फिल्मीखबर, काठमाडौं, 2025/09/08

abhimanyu movie nepali

 

यही भदौ २७ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने भएको छ । सोमबार जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन स्थगन गरिएको हो । निर्माता कम्पनी सेभेन सिज सिनेमाका अध्यक्ष विनोद पौडेलले विज्ञप्ति जारी गर्दै फिल्मको नयाँ प्रदर्शन मिति चाँडै घोषणा गरिने जानकारी दिए ।

आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस दुखद घडीमा फिल्म सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर हाम्रो आगामी फिल्म ‘अभिमन्यु’लाई पूर्वनिधारित मिति भदौ २७ गते प्रदर्शनमा ल्याउन नसक्ने निर्णय गरेका छौं । नयाँ प्रदर्शन मिति चाँडै तय गरी सार्वजनिक गरिनेछ ।’

नेपाली र हिन्दी भाषामा तयार भएको ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, प्रकाश दाहाल लगायतले अभिनय गरेका छन् । सुशान्त गौतमको निर्देशनमा बनेको यो फिल्मको हिन्दी संस्करण असोज ६ गते प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष छ । सम्भवतः अब यही मितिमा फिल्मको दुवै संस्करण प्रदर्शन हुन सक्नेछ ।

सस्पेन्स थ्रिलर विधामा निर्माण भएको ‘अभिमन्यु’मा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन तथा शरद महतोको छायांकन रहेको छ । विनोद पौडेलले गुञ्जन गिरीसँगको सहकार्यमा निर्माण गरेको यो फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्मातामा छन् । विनोद र रमेश कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता हुन् ।