Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

जेनजीमाथि सरकारको बर्बर दमनको कलाकारले गरे विरोध, कसले के भने ?

फिल्मीखबर, काठमाडौं, 2025/09/08

paul shah and rekha thapa

 

भ्रष्टाचार, सत्ताको दुरुपयोग र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै कलाकारहरुले विरोध जनाएका छन् । प्रदर्शनमा सहभागी १८ जनाको मृत्यु भएपछि आक्रोशित भएका कलाकारहरुले सामाजिक सञ्जालमार्फत् ‘हत्यारा सरकार’ भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा समेत मागेका छन् । 

अभिनेत्री ऋचा शर्माले आन्दोलनका हृदयविदारक तस्वीर (रगताम्मे भएको जुत्ता) सामाजिक सञ्जालमा सेअर गर्दै सरकारले आफ्नो असली रुप देखाएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘ढल्दै गएको पुस्ताले उदाउँदै गरेको पुस्तामाथि दमन गरेको छ र देशभित्रै ज्वालामुखी फुट्दैछ । हत्यारा सरकार, भ्रष्ट सरकार, अलोकतान्त्रिक सरकार ।’  

अभिनेत्री द्वय वर्षा सिवाकोटी र लक्ष्मी वर्देबाले पनि ‘हत्यारा सरकार’ भन्दै जेनजीमाथि भएको बर्बर दमनको विरोध गरेका छन् । अर्की अभिनेत्री आँचल शर्माले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट लेख्दै ‘दिनदहाडै हत्या गर्नुलाई नियन्त्रण भन्छौ’ भन्दै सरकारलाई प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, ‘रगतले लतपतिएका तिमीहरुको अनुहारलाई इतिहासले हरेक दिन थुक्नेछ ।’

त्यस्तै, अभिनेत्री रेखा थापाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जेनजीले उठाएको माग पूरा गर्न र संविधान संशोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । अभिनेता पल शाहले न्याय र अधिकार खोज्दा ज्यान नै गुमाउनुपर्ने कठै मेरो देश भन्दै दुःख व्यक्त गरेका छन् भने अर्का अभिनेता पुष्प खड्काले जनता देशको सम्पत्ति भए पनि राज्यले कठपुतली बनाएको भन्दै आक्रोश पोखेका छन् ।

निर्देशक तथा सांसद असिम शाह, निर्देशक तथा निर्माता सन्तोष सेन, ज्योतिष तथा अभिनेता हरिहर अधिकारी, अभिनेता दिव्यदेव पन्त, अभिनेत्रीहरु नीता ढुंगाना, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, आना शर्मा, सुहाना थापा लगायतले पनि जेनजीको प्रदर्शनमा भएको दमनको सामाजिक सञ्जालमार्फत् विरोध जनाएका छन् ।