Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जितुको साथमा ‘छक्का पञ्जा युएसए टूर’ गर्दै दीपक-दीपा

फिल्मीखबर, काठमाडौं, 2025/09/08

chhakka panja usa

 

कुनै बेला दीपकराज गिरी, दीपाश्री निरौला, र जितु नेपालबीच व्यक्तिगत र व्यावसायिक दुवै हिसाबले बलियो सम्बन्ध थियो । उनीहरुले ‘६ एकान ६’ हुँदै ‘छ माया छपक्कै’सम्म निरन्तर सहकार्य गरे । तर, ‘महानायक’ विवादपछि उनीहरुको सहकार्य मात्र नभई व्यक्तिगत सम्बन्धमा पनि दरार देखा पर्‍यो । दीपक-दीपा र जितुबीच लामो समय पानी बाराबारकै अवस्था रहेको थियो । 

अब भने उनीहरुले विगतका तिक्तता भुलेर पुनः सहकार्यको यात्रा सुरु गरेका छन् । यसको सुरुवात ‘छक्का पञ्जा युएसए टूर’बाट भएको हो । ३ असोजमा अमेरिकाको बाल्टिमोरबाट सुरु हुने यो टूरमा दीपकराज र दीपाश्रीसहित जितु पनि सहभागी हुनेछन् । आइतबार काठमाडौंमा उक्त टूरबारे जानकारी दिन आयोजित कार्यक्रममा उनीहरुको उपस्थिति रहेको थियो । 

अमेरिकाको १५ स्थानमा हुने कार्यक्रममा दीपकराज, दीपाश्री र जितुसहित अभिनेता तथा उद्घोषक आसिफ शाह, गायिका मिना पोख्रेल र गायक धर्मेन्द्र सेवान पनि सहभागी हुनेछन् । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतिमा हुन लागेको उक्त टूरमा हास्य प्रहसनदेखि सांगीतिक प्रस्तुतिसम्म रहने जनाइएको छ । 

१५ वर्षपछि अमेरिका जान लागेको दीपकले यसपटकको दशैंमा आफ्नो समूहको फिल्म रिलिज नभएकाले दर्शकलाई ‘छक्का पञ्जा’को मजा दिन अमेरिका टूरमा सहभागी हुन लागेको बताए । दीपाले भने धेरैपछि स्टेजमा प्रस्तुति दिन लागेकाले आफू नर्भस रहेको बताइन् । जितुले यसपालिको दशैं अमेरिकाबासी दर्शकसँग रमाइलो गर्दै मनाउन आफू उत्साहित रहेको बताए ।