.jpg)
भ्रष्टाचार, असमानता, सत्ताको दुरुपयोग र सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी पुस्ताले सोमबार (२३ भदौ)का लागि आह्वान गरेको आन्दोलनलाई कलाकारहरुले पनि समर्थन जनाउन थालेका छन् । काठमाडौंस्थित माइतीघर मण्डलामा हुन लागेको आन्दोलनलाई कलाकारहरुले समर्थन र ऐक्यबद्धता जनाउँदै त्यससम्बन्धी पोस्टहरु सामाजिक सञ्जालमा सेअर गरिरहेका छन् ।
अभिनेता अनमोल केसीले फेसबुकमा ‘स्टुडेन्ट एन्ड जेनजी अगेन्स्ट करप्सन’ लेखिएको एउटा पोस्टर सेअर गर्दै लेखेका छन्, ‘हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं । सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।’
अनमोलले जेनजीलाई आवाज उठाउने पुस्ता भन्दै भोलिको भेलालाई जेनजीको भविष्यसँग जोडेर अर्थ्याएका छन् । उनले कुनै पनि आन्दोलनलाई समर्थन जनाएको यो पहिलो पटक हो । अनमोलको अभिव्यक्तिले देशको वर्तमान अवस्थाप्रति उनको असन्तुष्टिलाई प्रष्ट झल्काएको छ । उनी आन्दोलनमा सहभागी हुने वा नहुनेबारे भने जानकारी प्राप्त छैन ।
अभिनेत्री वर्षा सिवाकोटीले पनि आन्दोलनको पोस्टर फेसबुकमा सेअर गर्दै ‘साङ्लो तोड्नुस्, दाग हटाउनुस्’ भनेर उल्लेख गरेकी छन् । अर्की अभिनेत्री नीति शाहले ‘जेनजी विद्रोह’लाई समर्थन जनाउँदै इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेअर गरेकी छन् । अभिनेत्री दिव्या रायमाझीले पनि अब चुप लागेर नबस्ने भन्दै ‘जेनजी विद्रोह’लाई परिवर्तनको दिशामा एउटा महत्त्वपूर्ण कदम भनेकी छन् ।
त्यस्तै, र्यापर तथा काठमाडौं महानगरपालिका मेयर बालेन शाह, अभिनेता पल शाह, निर्देशक निश्चल बस्नेत, अभिनेत्रीहरु आँचल शर्मा, ऋचा शर्मा, गायकहरु सञ्जय श्रेष्ठ, शिव परिवार, एकदेव लिम्बू, गायिका रचना रिमाल, कमेडियन सुजता श्रेष्ठ, कथावाचक तथा अभिनेता साइग्रेस पोखरेल लगायतले पनि जेनजी पुस्ताको आन्दोलनलाई समर्थन जनाएका छन् ।

