Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अभिमन्यु’ मेरो वर्षौंदेखिको परीक्षाको फल हो : कामेश्वर चौरासिया

फिल्मीखबर, काठमाडौं, 2025/09/07

KAMESHWAR CHAURASIYA

 

अभिनयमा राम्रो क्षमता भएर पनि करिअरमा अपेक्षित उडान भर्न नसकेका कलाकार हुन्, कामेश्वर चौरासिया । ‘रेशम फिलिली’ होस् वा ‘रज्जारानी’, चाहे ‘फेरि रेशम फिलिली’ वा ‘फाटेको जुत्ता’ नै किन नहोस्, हरेकमा उनको जीवन्त अभिनयमा देख्न पाइन्छ । तर, यी सबैमा उनी सहायक भूमिकामा सीमित थिए । पहिलोपटक उनी फिल्म ‘अभिमन्यु’मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

तराईको कथा र तराईकै सेटअपमा बनेको यो फिल्ममा कामेश्वर मधेशी पात्रको भूमिकामा देखिएका छन् । उनी आफैं पनि तराई मुलका हुन् । यसैले उनी ‘अभिमन्यु’मा निभाएको भूमिकालाई आफ्नो वर्षौंदेखिको परीक्षाको फल मान्छन् । उनी भन्छन्, ‘मैले कुरेर बसेको नै यसैका लागि थियो । यो अवसर कुनै दिन आउँछ भन्नेमै थिएँ। मेरो यत्रो वर्षदेखिको परीक्षाको फल ‘अभिमन्यु’ हो ।’

महाभारतमा अभिमन्युलाई वीर पात्र मानिन्छ । फिल्ममा अभिमन्युको भूमिकामा रहेका कामेश्वरको पात्र पनि त्यस्तै बहादुर छ त ? पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘महाभारतमा अभिमन्यु वीर पात्र नै हो । फिल्ममा चाहिँ अभिमन्यु वीर पुरुष होइन । ऊ सामान्य मानिस हो । तर, पछि ऊ यस्तो ठाउँमा आइपुग्छ कि त्योबेला उसलाई म अभिमन्युकै रूपमा दोहोरिएछु भन्ने चाहिँ महसुस हुन्छ ।’
 
‘रेशम फिलिली’बाट कमेडी कलाकारको रूपमा चिनिएका कामेश्वरले ‘अभिमन्यु’मा भने गम्भीर भूमिका निभाएका छन्, जुन ट्रेलर हेर्दा पनि प्रष्ट हुन्छ । यसमा उनको पात्र अपहरणमा संलग्न छ । उनी यो फिल्ममार्फत आफूले फरक विधामा पनि अभिनय गर्न सक्छु भन्ने देखाउने अवसर पाएको बताउँछन् । यसैले उनले ‘अभिमन्यु’लाई आफ्नो करिअरको नयाँ घुम्तीको रुपमा लिएका छन् ।

कामेश्वर भन्छन्, ‘म खासमा कलाकार बन्न आएको थिएँ, नजानिँदो पाराले कमेडियन भएछ । तर, म कमेडीमा पनि राम्रो रहेछु भन्ने चाहिँ ‘रेशम फिलिली’बाट थाहा पाएँ । ‘अभिमन्यु’मा चाहिँ मैले निभाएको पात्रमा हास्य रस कम, गम्भीरताको अलि दख्खल देख्न पाइन्छ । यस फिल्ममार्फत ममा अरु विधा पनि रहेछन् भन्ने स्थापित गर्ने अवसर पाएको छु । यो मेरो लागि ठूलो अवसर हो ।’