Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

एउटै नाममा बनेका दुई फिल्म : पिताको फ्लप, छोराको सुपरहिट

फिल्मीखबर, काठमाडौं, 2025/09/06

agneepath

 

बलिउडमा एउटै नाममा थुप्रै फिल्म बनेका छन् । तर, एउटै परिवारका दुई पुस्ताले एउटै शीर्षकमा फिल्म बनाएको उदाहरण भने दुर्लभ छ । त्यस्तो दुर्लभ उदाहरण हुन्, यश जोहर र उनका छोरा करण जोहर । उनीहरुले २२ वर्षको अन्तरालमा ‘अग्निपथ’ नाममा दुई फिल्म बनाएका थिए । तर, नाम एउटै भए पनि यी दुई फिल्मको किस्मत र बक्स अफिस नतिजा विल्कुलै अलग रह्यो ।

यशले सन् १९९० मा ‘अग्निपथ’ बनाएका थिए । मुकुल आनन्दको निर्देशनमा बनेको यो फिल्ममा त्यसबेलाका चर्चित कलाकारहरु अमिताभ बच्चन, मिथुन चक्रवर्ती र डेनी डेन्जोङ्पाको अभिनय थियो । यसका बाबजुद पनि फिल्म सफल हुन सकेन । ४ करोडमा बनेको फिल्मले भारतमा ६ करोड मात्र कमाइ गर्‍यो । यद्यपि, यो फिल्म त्यस वर्षको चौथो सर्वाधिक कमाउने फिल्म बनेको थियो ।

‘अग्निपथ’ फ्लप भएपछि पिता निकै निराश भएको कुरा करणले आफ्नो आत्मकथा ‘एन अनसूटेबल ब्वाय’मा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जब ‘अग्निपथ’ बन्दै थियो, तब पितासहित सम्पूर्ण टिमलाई विश्वास थियो कि यो एउटा ऐतिहासिक फिल्म हुनेछ । प्रिमियरमा सबैले फिल्मको तारिफ पनि गरेका थिए । तर, जब फिल्म हलमा लाग्यो, तब बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।’

‘अग्निपथ’का कारण बलिउडमा यशको छवि ‘असफल निर्माता’को रुपमा बनेको थियो । यो कुराको पीडा उनलाई जीवनभर रह्यो । पिताको पीडा करणले पनि महसुस गरेका थिए । यसैले २२ वर्षपछि अर्थात् सन् २०१२ मा उनले बुबाको अधुरो सपना पूरा गर्न ‘अग्निपथ’कै रिमेक बनाए, आधुनिक शैलीमा । करण मल्होत्राको निर्देशनमा बनेको यो फिल्म भने बक्स अफिसमा सुपरहिट भयो ।

करणले बनाएको ‘अग्निपथ’ भारु ५८ करोडमा निर्माण भएको थियो, जसले भारतमा मात्र १२० करोड नेट कमाइ गर्‍यो । विश्वव्यापी कमाइ भने १९३ करोड पुगेको थियो । फिल्मको सफलतापछि करणले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरो लागि यो फिल्म बनाउनु पिताका लागि न्याय गर्नु थियो । १९९० मा जुन फिल्म फ्लप भयो, मैले त्यसलाई नै सफल बनाएर उहाँलाई श्रद्धाञ्जलि दिन चाहन्थेँ ।’