Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तिहारमा त्रिपक्षीय भिडन्त तय, कात्तिक ७ मा ‘मैझारो’ आउने

फिल्मीखबर, काठमाडौं, 2025/09/05

maijharo

 

यसपालिको दशैंको फूलपातीपछि तिहारमा पनि नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । तिहारको मुख्य दिन भाइटीका (६ कात्तिक)लाई दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब कात्तिक ७ गते (भाइटीकाको भोलिपल्ट) कलाकार विल्सन विक्रम राईको निर्देशनमा बनेको फिल्म ‘मैझारो’ प्रदर्शन हुने भएको छ । 

बिहीबार निर्माण पक्षले दुईवटा क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । दुईमध्ये एक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुन देखिएका छन् । उनीहरुलाई लिम्बू पहिरनमा देख्न सकिन्छ । यो पोस्टरले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको संकेत गर्छ ।

दोस्रो पोस्टरमा धीरज र मिरुनालाई प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ । धीरजले बन्चरो समातेका छन् भने मिरुना कुर्था-सुरुवालमा धीरजतर्फ नजर लगाइरहेकी छन् । पृष्ठभूमिमा चिया बगानको मनमोहक दृश्य देखिन्छ । यसले धीरजप्रति मिरुनाको आकर्षणलाई दर्शाएको छ । यो फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र प्रेमकथामा आधारित रहेको जनाइएको छ ।

निर्देशक राई स्वयंको लेखन रहेको ‘मैझारो’मा धीरज, मिरुना र दीयासँगै  बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ लगायतको अभिनय रहेको छ । यसमा दयाहाङ राई विशेष भूमिकामा छन् । डिबी राई र सरिना लामा निर्माता रहेको यो फिल्ममा सौरभ लामाको छायांकन तथा मित्र डि गुरुङको सम्पादन छ ।