Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘कबड्डी’ जोडीको ‘रिमै’, ‘चिट्ठी’को प्रदर्शन स्थगित

फिल्मीखबर, काठमाडौं, 2025/09/05

movie nepali

 

गत असार र साउनमा तुलनात्मक रूपमा कम देखिएको फिल्म रिलिजको चाप भदौ महिना सुरू भएसँगै ह्वात्तै बढेको छ । अघिल्लो दुई हप्तामा मात्र चारवटा फिल्म प्रदर्शन भइसकेका छन् । यस्तैमा शुक्रबारबाट हलमा नयाँ फिल्म ‘रिमै’ थपिएको छ । योसँगै बलिउडको ‘बागी ४’ र हलिउडको ‘द कन्जुरिङ : लास्ट राइट्स’ जस्ता ठूला फिल्म पनि प्रदर्शनमा आएका छन् । 

शुक्रबार अर्को नेपाली फिल्म ‘चिट्ठी’ पनि प्रदर्शनको तयारीमा थियो । तर, देशभरका हलले उचित शो नदिएको भन्दै बिहीबार साँझ फिल्मका निर्माताले रिलिज स्थगनको घोषणा गरे । अब यो फिल्मलाई आगामी मंसिरमा प्रदर्शन गरिने जनाइएको छ । ‘चिट्ठी’को प्रदर्शन स्थगित हुँदा यसलाई उपलब्ध शो ‘रिमै’सहितका फिल्मले बाँडेका छन् । 

गुरुङ समुदायको संस्कार, संस्कृति र परम्परामा आधारित ‘रिमै’मा ‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ भने अर्पण थापा, गौमाया गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले मगर, वीरमाया गुरुङ लगायतले पनि अभिनय गरेका छन् । देशव्यापी एक सय बढी शो पाएको यो फिल्म टिकट बुकिङमा भने कमजोर देखिएको छ । 

खिल बहादुर गुरुङको निर्देशन तथा उपेन्द्र सुब्बाको लेखन रहेको ‘रिमै’मा शैलेन्द्र ध्वज कार्कीको छायांकन तथा मित्र डि गुरुङको सम्पादन छ । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।