.jpg)
६ वर्ष अगाडि घोषणा भएको ‘पारस’ शीर्षकमा अब निर्देशक कृषा चौलागाइँले फिल्म बनाउँदैछिन् । निर्माता माधव वाग्ले हुँदै अभिनेता भुवन केसीसम्मले यो शीर्षकमा फिल्म बनाउने तयारी गरेका थिए । भुवनले त मोटो रकममा ‘पारस’को सम्पूर्ण स्वामित्व नै लिएका थिए । तर, उनले फिल्म निर्माण गर्न सकेनन् । यो फिल्म बनेको हुन्थ्यो भने शीर्ष भूमिकामा अनमोल केसी देखिने थिए ।
भुवनले ‘पारस’ बनाउन नसकेपछि कृषाले गत साउनमा यो नाम चलचित्र विकास बोर्डमा दर्ता गरेर बुधबार आफ्नो जन्मदिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरेकी छन् । उनले कलाकारको नाम भने सार्वजनिक गरेकी छैनन् । तर, विश्वस्त स्रोतका अनुसार यस फिल्ममा अनमोल केसीले काम गर्ने सम्भावना बलियो रहेको छ ।
फिल्म ‘पिताम्बर’ रिलिज लगत्तै कृषाले अनमोलसँग सहकार्यको प्रस्ताव राखेकी थिइन् । बुझिए अनुसार उनले ‘पिताम्बर २’ वा ‘जहाजैमा’मध्ये कुनै एकमा अभिनय गर्न अनमोललाई आग्रह गरेकी थिइन् । तर, उनले दुवै नकार्दै ‘पारस’ नाममा फिल्म बनाउन सुझाव दिएका थिए । अनमोलले नै नाम सिफारिस गरेपछि कृषाले तुरून्तै बोर्डमा फिल्म दर्ता गर्दै निर्माण इजाजत लिएकी थिइन् ।
यतिबेला ‘पारस’को स्क्रिप्टमा काम भइरहेको छ । अनमोलले फिल्मको कथा मन पराइसकेकाले उनीसँग यसै महिना सम्झौताको तयारीमा निर्माण टिम रहेको बुझिएको छ । उनलाई ७० लाखमाथि पारिश्रमिकमा फिल्म खेलाउन लागिएको चर्चा पनि चलिरहेको छ । आगामी फागुनबाट छायांकन सुरू हुने यो फिल्ममा विशाल चौलागाईँको लगानी रहनेछ । यसमा सचिन लदियाको लेखन छ ।

