
सम्पादकको रूपमा परिचित सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म ‘वरिष्ठ बलराम’को फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ । दुवै सामग्रीमा फिल्मका मुख्य दुई अभिनेता दयाहाङ राई र विजय बराललाई केन्द्रमा राखिएको छ । टिजरमा उनीहरू आमनेसामने भएको देखिन्छ, जसले कथामा हुने सम्भावित द्वन्द्वलाई संकेत गर्छ ।
गाडीमा हुइँकिँदै आएका दयाहाङलाई बाइकमा सवार विजयसहितको समूहले बाटो छेकेपछि उनीहरूबीच तनावपूर्ण स्थिति सिर्जना भएको टिजरमा देखाइएको छ । दयाहाङको गेटअप हेर्दा उनी फिल्ममा नेता वा व्यापारीको भूमिकामा हुनसक्ने अनुमान गर्न सकिन्छ । विजयसँग उनको टसल नै फिल्मको केन्द्रीय द्वन्द्व रहेको संकेत टिजरले दिएको छ ।
भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा दयाहाङ र विजयसहित समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ । फिल्ममा निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन छ । यो उनी निर्देशित चौथो फिल्म हो ।
महेश दवाडीको पटकथा लेखन रहेको फिल्ममा आशिष एच. तामाङ र श्रीराज कार्की निर्माताको रूपमा छन् भने प्रदीप जी. धामी र पुस्कर बी. घिमिरे कार्यकारी निर्माता हुन् । वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्म सामाजिक कथावस्तुमा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

