.jpg)
दशैंको छेको पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को पहिलो गीत ‘अम्लारी फूल’ सार्वजनिक गरिएको छ । अभिज्ञा घिमिरे र विकास लिम्बूको स्वर समावेश यो मर्मस्पर्शी गीतमा सुशान्त गौतमको संगीत तथा सुष्मा सिग्देलका शब्द छ । गीतको सुरुवातमा पालाम (लिम्बू समुदायको लोकगीत) पनि सुन्न सकिन्छ ।
फिल्मका मुख्य जोडी दयाहाङ राई र मिरुना मगरलाई केन्द्रमा राखिएको गीतको भिडियोमा उनीहरूबीचको प्रेम र सम्बन्धमा देखिने तिक्ततालाई दृश्यमार्फत प्रस्तुत गरिएको छ । यस फिल्ममा दयाहाङ र मिरुना श्रीमान्–श्रीमतीको भूमिकामा छन् । भिडियो हेर्दा फिल्मको मूल कथा उनीहरूको सम्बन्धमा देखिने उतार–चढावमा केन्द्रित रहेको बुझ्न सकिन्छ ।
कवि उपेन्द्र सुब्बा (उपेन्द्रबहादुर आङेदेम्बे)को निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ र मिरुनासहित ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको अभिनय रहेको छ । फिल्मका निर्माताहरू रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।
निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ । २ वर्षअघि ‘जारी’ले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै बक्स अफिसमा सानदार कमाइ गरेकाले यसको सिक्वेल पनि सफल हुने अपेक्षा गरिएको छ ।

