.jpg)
अभिनेत्री रिश्मा गुरुङलाई वास्तविक नामले भन्दा ‘कबड्डी’की ‘मैयाँ’को रूपमा दर्शकले बढी चिन्छन् । ‘कबड्डी’का दुई श्रृंखलामा उनले ‘मैयाँ’को भूमिका निभाएकी थिइन् । यी दुई फिल्मको सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनले यसपछि तीनवटा फिल्ममा मात्र काम गरिन् । २०७७ सालमा ‘क्रसरोड्स-कथा तिम्रो मेरो’मा अभिनय गरेपछि उनले फिल्मबाटै दूरी बनाएकी थिइन् ।
बीचमा रिश्माले फिल्म क्षेत्र नै छाडेको चर्चा समेत चल्यो । तर, करिब ४ वर्षपछि उनले नयाँ फिल्म ‘रिमै’मा काम गरिन्, जुन यही शुक्रबार (२० भदौ)बाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममार्फत् उनी ७ वर्षपछि पर्दामा देखिन लागेकी हुन् । यसमा उनको जोडी ‘कबड्डी’का काजी अर्थात् दयाहाङ राईसँग बाँधिएको छ । ‘कबड्डी’मा झैँ यसमा पनि उनीहरू सोल्टी–सोल्टिनीको भूमिकामा छन् ।
यतिबेला ‘रिमै’को प्रचारमा व्यस्त रहेकी रिश्माले फिल्म क्षेत्र छाडेको चर्चाबारे स्पष्टीकरण दिएकी छन् । हालै पत्रकारसँगको एक भेटमा उनले भनिन्, ‘यो गलत कुरा हो । मैले कहिल्यै अब फिल्म गर्दिनँ भनेकै छैन । हो, अब फिल्म गरेँ भने यो-यो सर्तमा मात्र गर्छु चाहिँ भनेको हुँ । तर, फिल्म क्षेत्र छाड्छु भनेको थिइनँ । भोलिका दिनमा पनि राम्रो प्रोजेक्टबाट अफर आयो भने काम गर्छु ।’
रिश्माले ‘रिमै’को अर्थबारे पनि प्रष्ट पारेकी छन् । गुरुङ समुदायमा चेलीलाई ‘रिमै’ भनिने जानकारी दिँदै उनले भनिन्, ‘यो नामले धेरै कुरालाई व्यक्त गर्छ । ‘रिमै’को खास अर्थ चाहिँ चेली भन्ने हुन्छ । फिल्ममा रिमैको क्यारेक्टर मैले नै निभाएकाले यसको भार ममा धेरै थियो । यो फिल्ममा गरेको मेहनत र कन्टेन्टको हिसाबले मलाई धेरै आशा छ। फिल्म राम्रो चल्छ भन्नेमा पनि विश्वस्त छु ।’
‘रिमै’को ट्रेलर रिलिजपछि धेरैले यसलाई ‘कबड्डी’को नयाँ भर्सन भन्दै टिप्पणी गरिरहेका छन् । तर, रिश्मा विषयवस्तु उठानको हिसाबले ‘कबड्डी’भन्दा ‘रिमै’ फरक रहेको दाबी गर्छिन् । यो फिल्ममा ‘कबड्डी’कै जोडी दोहोरिनु र सोल्टी-सोल्टिनीबीचकै कथा रहेकाले दर्शकलाई उस्तै लाग्नु स्वभाविक भए पनि ‘रिमै’मा गुरुङ समुदायको संस्कार र संस्कृतिलाई देखाइएको उनको भनाइ छ ।

