राजनीति र फिल्म क्षेत्रमा एउटा भनाइ चर्चित छ, ‘यहाँ कोही स्थायी शत्रु वा मित्र हुँदैनन् ।’ यी दुई क्षेत्रमा वर्षौंसम्म घनिष्ठ देखिएका व्यक्तिहरू अकस्मात् टाढिएका उदाहरण प्रशस्त छन् भने लामो दूरीपछि घनिष्ठ मित्र बनेका दृष्टान्तहरू पनि कम छैनन् । यतिबेला फिल्म क्षेत्रमा अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काको सम्बन्धमा चिसोपना आएको चर्चा भइरहेको छ ।
फिल्म ‘हरिबहादुरको जुत्ता’का लागि फोटोसुट गर्ने क्रममा उनीहरुबीच बोलचाल नै नभएको देखिएपछि त्यो विषय मिडियामा गसिपको रूपमा फैलिएको थियो । धेरैले फिल्म ‘वसन्त’को खराब प्रदर्शनपछि उनीहरुको सम्बन्ध बिग्रिएको अनुमान लगाए । तर, पछि ‘हरिबहादुरको जुत्ता’को एक प्रवर्धनात्मक भिडियोमा उनीहरुले एउटै गिलासको पानी पिउँदै बजारको हल्लालाई खारेज गरे ।
सोमबार फिल्मको नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक कार्यक्रममा पनि प्रकाश र स्वस्तिमालाई पत्रकारले सम्बन्ध बिग्रिएको चर्चाबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रकाशले बजारमा आएको कुरामा एक प्रतिशत पनि सत्यता नरहेको स्पष्ट पारे । उनले स्वस्तिमा आफ्नो नजिकको साथी रहेको बताउँदै आफूहरुबीच मनमुटाव वा झगडा हुनुपर्ने कुनै पनि कारण नरहेको बताए ।
उनले भने, ‘फिल्म क्षेत्रमा आएपछि मैले फिल्मको बारेमा सबैभन्दा बढी कुरा सेअर गरेको र बुझेको साथी नै स्वस्तिमाजी हुनुहुन्छ । भनेपछि उहाँसँग मनमुटाव वा झगडा गर्नुपर्ने कारण नै छैन । हाम्रोबारे बजारमा जे आएको छ, त्यसमा एक प्रतिशत पनि सत्यता छैन । काम गर्ने बेलामा कहिलेकाहीँ थाकेर वा आ-आफ्नो काम गरिरहँदा एकैछिन नबोलिएको हुनसक्छ । तर, त्यस्तो केही छैन ।’
स्वस्तिमाले पनि प्रकाशसँग सम्बन्ध बिग्रिएको कुराको खण्डन गरिन् । उनले भनिन्, ‘मेरो पछिल्लो समय जति पनि फिल्मसम्बन्धी कन्टेन्ट आएको छ, सबैभन्दा धेरै प्रकाशजीसँगै छ । बजारमा भने सम्बन्ध बिग्रिएको चर्चा चल्छ । अरूले चाहिँ प्रकाशजीबाहेक अरूसँग तपाईंको काम नै आउन छाड्यो भन्नुहुन्छु । उहाँसित फिल्ममा मैले दोस्रो पटक काम गरेकी हुँ । एकदम रमाइलो भयो ।’

