
लभस्टोरी फिल्मका लागि परिचित निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘कुमारी’को छायांकन सुरु गरेका छन् । मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा शुभ-मुहूर्त गरेपछि पाटन क्षेत्रमा छायांकन थालिएको हो । मुहूर्त समारोहमा निर्देशक राउतसँगै फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभन्डारी तथा निर्माता महेन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।
‘कुमारी’को छायांकन ३५ दिनभित्र सक्ने लक्ष्य राखिएको छ । यो फिल्ममा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार लगायतको अभिनय रहनेछ । यो फिल्म सहरी क्षेत्रको प्रेमकथामा आधारित हुने जनाइएको छ ।
गत शुक्रबार फिल्मको घोषणा समारोहमा गायक केहर सिंह लिम्बूले गाएको ‘कता छौ’ गीत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ । चर्चित गीत ‘फूलै फूलको बगैंचामा’का गायक लिम्बूले यही फिल्ममार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन् । फिल्ममा संगीत केहर सिंह लिम्बू, सुमन तामाङ र प्रशान्त सिवाकोटीको रहनेछ भने गीतमा स्वर लिम्बूले नै दिएका छन् ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण हुन लागेको फिल्मको स्क्रिप्ट विकास सुवेदीले तयार पारेका हुन् । केदार भुसाल कार्यकारी निर्माता रहेको फिल्मको छायाँकारमा सुसन प्रजापति छन् । यसमा सुप्रिम पराजुलीले रङ संयोजन, उत्तम न्यौपानेले साउन्ड डिजाइन र किरण थापाले कोरियोग्राफी गर्नेछन् । ‘कुमारी’लाई यसै वर्ष प्रदर्शन गरिने जनाइएको छ ।

