Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुकमा दीपकराज र सन्तोषको जुहारी, कारण के हो ?

फिल्मीखबर, काठमाडौं, 2025/09/02

santos sen and deepakraj giri

 

अभिनेता दीपकराज गिरी र निर्माता सन्तोष सेनबीच तीतो-मीठो सम्बन्ध नयाँ होइन । कहिले उनीहरू अंकमाल गर्दै भाइचाराको सम्बन्ध दर्शाउँछन् त कहिले कटाक्ष र व्यंग्यमार्फत वाकयुद्धमा उत्रिन्छन् । एकपटक फेरि उनीहरूबीच सामाजिक सञ्जालमा कटाक्ष र आरोप-प्रत्यारोप चलेको छ । सन्तोषले त दीपकराजलाई तुच्छ सोच भएको व्यक्तिको संज्ञा समेत दिएका छन् । 

मंगलबार बिहान दीपकराजले फेसबुकमा एउटा स्टाटस लेखेका थिए, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौं । आफ्नो हिरो बाघ, अरूको स्याल । याद गरौं बाघ पनि जनावर नै हो ।’ यो वाक्यमा प्रयोग गरिएको ‘बाघ’ शब्दले उनको कटाक्ष सन्तोषप्रति लक्षित रहेको प्रष्ट बुझिन्थ्यो । किनभने, सेनले आफ्नो फिल्म ‘बलिदान’का अभिनेता समीर भट्टलाई ‘बाघ’ भनेर सम्बोधन गर्दै आएका छन् ।

दीपकराजको स्टाटसपछि सन्तोष पनि किन चुप लागेर बस्थे र ! उनले दीपकराजको पोस्टमा कमेन्टसँगै फेसबुकमा स्टाटस नै लेखेर सोचमै पाप भएको व्यक्तिको संज्ञा दिए । उनले लेखेका छन्, ‘तिम्रो सोचमै पाप छ । कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर । यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ, त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन ।’ 

निर्माता सेनले दीपकराजलाई हार स्वीकार्न नसक्ने व्यक्ति समेत भनेका छन् । उनी अगाडि लेख्छन्, ‘हाम्रो ‘बलिदान’को पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो ? तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो । दर्शकको भावनामा चोट पुर्‍याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन ।’ 

सन्तोषको उक्त पोस्ट लगत्तै दीपकराजले अर्को स्टाटस लेखिहाले, ‘चोरको खुट्टा काटभन्दा खुट्टा उचाल्यो चोरले । विचरो न त व्यंग्य बुझ्छ, न बौद्धिकता थाहा छ । बुरूक बरूक साँढे उफ्रे झैँ उफ्रिन्छ । माया लाग्छ ।’ सन्तोषले यो पोस्टको भने जवाफ फर्काएका छैनन् । तर, उनीहरूबीच चलेको अराजक शैलीको कटाक्ष र आरोप-प्रत्यारोपलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिका-टिप्पणी भइरहेको छ । धेरैले यस्ता क्रियाकलापले फिल्म क्षेत्रको छवि थप धमिलिने चिन्ता व्यक्त गरेका छन् ।

 

deepakraj giri and santosh sen


दीपकराज र सन्तोषबीच सामाजिक सञ्जालमा अशोभनीय जुहारी चल्नुको पछाडि फिल्म ‘माइतीघर’का प्रचार सामग्रीमा गालीको वर्षा हुनुलाई मुख्य कारण मानिएको छ । यो फिल्मका निर्माता रोहित अधिकारीले ‘बलिदान’सँग सम्बन्धित व्यक्तिहरूले गरेको गालीको ‘स्क्रिनसट’ फेसबुकमा पोस्ट गर्दै मुद्धा हाल्ने चेतावनी दिएपछि दीपकराजले सन्तोषप्रति लक्षित गर्दै स्टाटस लेखेका थिए । यसपछि उनीहरूबीच जुहारी सुरू भएको हो । 

‘माइतीघर’ र ‘बलिदान’ एउटै मिति (फूलपाती)मा प्रदर्शन हुन लागेका फिल्म हुन् । यसैले दुवै टिमबीच शीतयुद्ध देखिएको छ । र, फिल्मकर्मीहरू पनि दुई कित्तामा बाँडिएका छन् । दीपकराजले मगंलबारको स्टाटसमार्फत् आफ्नो समर्थन ‘माइतीघर’लाई रहेको प्रष्ट संकेत दिइसकेका छन् । सन्तोषको फिल्मलाई भने सामाजिक सञ्जालमा दर्शकबाट बलियो समर्थन देखिन्छ ।